Hamro Patra
अनलाइनले सेवाग्राहीको काममा झन ढिलासुस्ती

योगेश रावल
टीकापुर, बैशाख २८
जानकी गाउँपालिका–१ दुर्गौलीका बपलबहादुर रावतलाई जग्गा रोक्काको काम गर्न पाँच दिन लाग्यो ।

बर्दगोरीया गाउँपालिका–१ बौनियाँका शेरबहादुर बुढा जग्गा नामसारी गर्न दुई दिनदेखी धाईरहेका छन । उनको काम सम्पन्न हुन अझै कति दिन लाग्ने हो ठेगान छैन ।

टीकापुर मालपोत कार्यालयमा भैरहेको ढिलासुस्तीबाट हैरान हुने यी दुई प्रतिनिधि पात्र मात्रै हुन । कुनैपनि सेवाग्राहीले समयमै काम सम्पन्न गरेर घर फर्किन पाएका छैनन् । उनीहरु मध्ये कतिपयले एउटै कामका लागि करिव एक साता कार्यालय धाउनमै बिताएका छन ।

Khadga Memorial And Janajagriti

झण्डै ३५ किलोमिटर बसको यात्रा गरेर भाईको नाममा जग्गा नामसारी गर्न टीकापुर पुगेका बर्दगोरीया गाउँपालिका–१ बौनियाँका बुढा दुई दिनदेखी मालपोत कार्यालयका कोठाकोठा चहारिरहेका छन । उनले आफू घर फर्किए पनि भाईलाई आफन्तको घरमा बसाएका छन । उनले अर्काको घरमा अझै कति दिनसम्म बस्नुपर्ने हो भन्दै चिन्ता व्यक्त गरे ।

‘धेरैजसो जनताले दुःख पाएका छन । समयमा काम भयो भन्ने त कोही छैन’ उनले भने–‘एउटा कामका लागि कति दिनसम्म धाउनुपर्ने हो थाहा छैन ।’

कार्यालयले बैशाख १५ गतेदेखी अनलाइन प्रणाली मार्फत काम थालेको छ । कामकाज छिटोछरितो गर्ने उद्देश्यले अनलाइन प्रणाली सुरु गरेको भनेपनि उल्टै ढिलासुस्ती हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । टाढाटाढाबाट आएका सेवाग्राहीहरु समयमा काम सम्पन्न नभएपछि निरास हुँदै फर्किनुपर्ने वाध्यता छ ।

कार्यालयमा भैरहेको ढिलासुस्तीको मार लेखापढी व्यवशायीले समेत व्यहोर्नु परेको छ । सेवाग्राहीको आक्रोशको निसानामा उनीहरु पर्ने गरेका छन । नेपाल लेखापढी कानून व्यवशायी एशोसियसन इकाई कार्यालय टीकापुरका पूर्व सचिव लक्ष्मीप्रसाद खनालले सेवाग्राही आफूहरुमाथि खनिने गरेको बताए ।

‘कार्यालय भित्र समयमा काम हुँदैन । सेवाग्राही हामीलाई रिसाउँछन’ उनले भने–‘एउटै काममा दिनहुँ बिताउनु परेपछि रिसाउनु स्वभाविक पनि हो ।’

यस कार्यालयले कैलालीको झण्डै आधा भूभागका बासिन्दालाई सेवा दिँदै आएको छ । यहाँ टीकापुर र लम्कीचुहा नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरीया गाउँपालिकाका बासिन्दाको जग्गा नामसारी, श्रेस्ताकायम, दाखा, संशोधन लगायतका काम हुन्छ । भजनी नगरपालिकाका केही वडाको काम समेत यसै कार्यालयमार्फत हुने गरेको सूचना अधिकारी सर्वानन्द चपाँईले जानकारी दिए ।

उनले अनलाइन प्रणालीमा गएपछि कार्यालयको काममा निकै ढिलासुस्ती भएको स्विकारेका छन । उनकै अनुसार अनलाइन प्रणाली सुरु हुनु पूर्व दैनिक १५ वटा नामसारी हुनेमा अहिले मुस्किलले ५÷६ वटासम्म मात्रै हुने गरेका छन ।

उनले कर्मचारी अभाव, दक्ष कर्मचारी नहुनु, बेलाबेलामा इन्टरनेट नचल्नुका साथै दोहोरो काम गर्नु परेकाले काममा ढिलासुस्ती भैरहेको बताए । उनले हाल अनलाइन र हातले लेख्ने दुवै माध्यमबाट काम गर्नुपरेको बताए । ‘अनलाइन भर्नु परेको छ अनि हातले लेख्नु पनि परेको छ’ उनले भने–‘कर्मचारीले दोहोरो काम गर्नु पर्दा समस्या भएको हो ।’

पहिले जग्गाधनी पूर्जामा फोटो टाँस्नु पथ्र्यो । अहिले कार्यालय भित्रै जग्गाधनीको फोटो खिचेर अनलाइनमै राख्नुपर्छ । अझ एउटा जग्गा नामसारी गर्दा जग्गा किन्ने, जग्गा बेच्ने र २ जना साक्षी गरी चार जनाको फोटो खिच्नु पर्छ । यसका साथै सबै कागजातहरु ‘स्क्यान’ गरेर अनलाइनमा राख्नुपर्छ । ‘भरपर्दो गरी इन्टरनेट चलेन भने यही एउटै काममा दिनभर पनि लाग्न सक्छ’ सूचना अधिकारी चपाँईले भने–‘सबै काम छिटोछरितो कर्मचारीका हातमा मात्रै छैन ।’

सेवाग्राहीले एउटै कामलाई कैयौं फाँटमा रुजु गराउनु पर्छ । उसले सबैभन्दा पहिले मोठ, त्यसपछि राजश्व, कम्प्युटर फाँट हुँदै कार्यालय प्रमुखको टेबुलमा पु¥याउँछ । यही कामका लागि उसले एउटै फाँटमा धेरै पटक जानु पर्छ । एउटै काममा दिन बिताउनु परेपछि थकित बनेको सेवाग्राही कर्मचारीको रुखो व्यवहारले झन आजित बन्ने गरेको छ । ‘यी कर्मचारीहरुले हामी सेवाग्राहीलाई रुखो व्यवहार गर्छन’ एक सेवाग्राहीले भने–‘कुनै कुरा सोधे पनि जवाफ दिँदैनन् ।’

कर्मचारीको यस्तो व्यवहारले सेवाग्राहीहरु झन रनभुल्ल पर्ने गरेका छन । उनीहरुलाई कुन कोठामा के काम हुन्छ भन्ने बारेमा जानकारी नै हुँदैन । कार्यालयको सोधपुछ कक्षमा अधिकांश समय कर्मचारी नै भेटिदैन । उनी अर्को कोठामा गएर काम गरिरहेका हुन्छन । जसले गर्दा सेवाग्राहीलाई एक ठाउँमा काम सकिएपछि अब के गर्ने भन्ने थाहा हुँदैन ।

कर्मचारी समायोजनको असर यस कार्यालयमा समेत परेको छ । समायोजन भएर जाने कर्मचारी गैसकेका छन तर आउने कर्मचारी अझै आएका छैनन् । कार्यालयमा ३ जना नासु र २ जना खरिदारको दरबन्दी रिक्त छ । अधिकृत स्तरको कार्यालय प्रमुख हुनुपर्नेमा विगत १४ महिनादेखी सुब्बाले कार्यालयको कमाण्ड सम्हालेका छन । दरबन्दी अनुसारको प्रमुख र कर्मचारी नहुँदा कार्यालयको अवस्था भद्रगोल जस्तै छ ।

देशभरका १२६ मध्ये ५७ मालपोत कार्यालयमा अनलाइन प्रणाली लागु भएको छ । अरु कार्यालयमा समेत अनलाइन प्रणालीबाटै काम गर्ने सरकारी लक्ष्य छ । सरकारले जनताको काम छिटोछरितो हुनुपर्छ भन्ने उद्देश्यले अनलाइन प्रणाली लागु गरेको भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा उल्टै समस्या देखा परेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update