Hamro Patra
कैलालीका कुन पालिकामा कति बजेट ?

टीकापुर, असार ११

कैलालीका १३ वटै स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र पालिका सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । गाउँ तथा नगर सभामा प्रस्तुत भएको बजेट यहाँ प्रस्तुत गरेका छौं ।

धनगढी उपमहानगरपालिकाले नगर सभामा रु १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट पेश गरेको छ । यो बजेट कैलालीका १३ वटै पालिकामा सबैभन्दा धेरै हो । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरमा उक्त बजेट प्रस्तुत गरिएको छ ।

Khadga Memorial And Janajagriti

लम्कीचुहा नगरपालिकाले १ अर्ब ३८ करोड ४४ लाख २५ हजारको बजेट प्रस्तुत गरेको छ । नगरको नवौँ नगर सभामा उक्त बजेट पेश गरिएको हो । यो कैलालीको दोश्रो तथा नगरपालिकाहरुमध्ये सबैभन्दा बढी बजेट हो ।

उता, गोदावरी नगरपालिकाले १ अर्ब २५ करोड ८ लाख ५० हजारको बजेट ल्याएको छ । नगरको आठौँ नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत् सार्वजनिक गरिएको सो बजेट आकारको आधारमा तेश्रो ठूलो बजेट हो ।

आकारका आधारमा चौथो ठूलो बजेट कैलालीका मध्यवर्ती घोडाघोडी नगरपालिकाले ल्याएको छ । आगामी आर्थिक वर्षका लागि १ अर्ब १ करोड २३ लाख २९ हजारको बजेट प्रस्तुत गरेको छ ।

पाँचौंमा गौरीगंगा नगरपालिका परेको छ । नगरपालिकाले ९० करोड ६४ लाख ७५ हजारको बजेट ल्याएको हो ।

यता कैलालीको सुदूरपूर्वी कैलालीको टीकापुर नगरपालिकाले ११ औं नगरसभामा ८५ करोड ८ लाख ८४ हजार १ शय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटको आकारमा आधारमा यो छैठौं नम्बरमा पर्छ ।

दक्षिणी सीमावर्ती भजनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७० करोड ६९ लाख १७ हजारको बजेट प्रस्तुत गरेको छ । आकारका आधारमा यो सातौं ठूलो बजेट हो ।

उता, बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को ७६ करोड ७० लाख ५५ हजारको बजेट सार्वजनिक गरेको छ । कैलालीका गाउँपालिकामा सबैभन्दा धेरै र १३ स्थानीय तहमा आकारका आधारमा यो आठौं नम्बरमा पर्छ ।

कैलालीमा सबैभन्दा पहिले असार ८ गते बजेट सार्वजनिक गरेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६९ करोड ३० लाख बजेट ल्याएको छ । यो बजेट आकारका आधारमा नवौं नम्बरमा छ ।

उता, कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । जुन दशौं नम्बरमा पर्छ ।

एघारौं बजेट ल्याउनेमा जोशीपुर गाउँपालिका रहेको छ । गाउँ पालिकाले ४८ करोड ११ लाख, १० हजार ५ शय रुपैयाँको बजेट ल्याएको छ ।

कैलालीका दुई पटा पहाडी गाउँपालिका मध्ये चुरे गाउँपालिकाले ४६ करोड ५१ लाख र मोहन्याल गाउँपालिकाले ४४ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट ल्याएका छन् ।

चुरे र मोहन्याल आकारका आधारमा बजेट प्रस्तुत गर्ने क्रमशः १२औं र १३औं स्थानीय पालिका हुन् ।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update