टीकापुर, असार ९
टीकापुर उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सभाहलको शिलान्यास गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले एक कार्यक्रमका बिच सभाहलको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री रावलले आफूहरुले धेरै अगाडिदेखि संघको सभाहल निर्माण गर्न खोजेको बताए । ‘व्यापारी, व्यवसायीहरुलाई आवश्यक पर्ने तालिमहरु सञ्चालनका लागि सभाहल आवश्यक थियो’ रावलले भने ‘थोरै बजेटमा हामीले शुरुवात गरेका छौं, यसलाई पूरा गर्न प्रतिबद्ध छु र यसमा सहयोग गर्न समेत आग्रह गर्दछु ।’
सभाहल निर्माण भए यस क्षेत्रको व्यापारमा नवीनतम् प्रविधि र अभ्यासहरु गर्न सहज हुने उनले बताए ।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बजेट विनियोजन गरिदिएकोमा धन्यवाद दिए । अध्यक्ष भण्डारीले भने ‘भ्याटलगायतका तालिमहरु सञ्चालन गरेर यस क्षेत्रको व्यावसायिक टे«ण्ड बदल्नका लागि पनि व्यापारीकै हल आवश्यक थियो, जसको निर्माण शुरु भएको छ ।’
अध्यक्ष भण्डारीका अनुसार तीन तलामा निर्माण हुने सभाहलको कुल लागत ३ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस आर्थिक वर्षमा ४० लाख, आगामी आर्थिक वर्षमा ५० लाख प्रदेश सरकारले रकम विनियोजन गरेको छ ।
भुइँतलामा कर्मिसियल सटरहरु र माथिल्ला तलाहरुमा सुविधा सम्पन्न सभाहल हुनेछ । सभाहलको निर्माण कार्य शुरु भइसकेको छ ।