टीकापुर, असार ८
कैलालीको टीकापुर नगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा थुपारेर राखिएको निर्माण सामग्री ढुंगा, बालुवा, ग्राभेल उठाउन शुरु गरेको छ । २७ दिनको समय दिँदा समेत कतिपय निर्माण व्यवसायीहरुले अटेर गरेका भन्दै नगरपालिकाले आजदेखि आफै उठाउन थालेको हो ।
नगरपालिकाले यसअघि दुई पटक म्याद थपेर सडक तथा सार्वजनिक स्थल खाली गर्न सूचना जारी गरेको थियो । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले सूचना जारी गर्दै पटक पटक ताकेता गर्दा समेत अटेरी गरेका व्यवसायीको ढुंगा, बालुवा, ग्राभेल नगरपालिकाले उठाउन शुरु गरेको बताए ।
‘सडक छेउमा ढुंगा, बालुवा राख्दा सडक दुर्घटना हुने, ढल निकासलाई समस्या हुने भएकाले हामीले हटाउन भनेका हौं’ नगर प्रमुख थारुले भने ‘उठाउँदा उठाउँदै पनि समय अपुग भएका व्यवसायीको भने उठाएका छैनौं, जसले हटाउँदै उसको सामान हामी नगरपालिकाले लिन्छ, आवश्यक परेको ठाउँमा काम लगाउँछौं ।’
आज टीकापुर नगरपालिका वडा नं. १ समितिपुरमा सडकमा थुपारिएको ग्राभेल हटाउने क्रममा विवाद भएको थियो । नगरपालिका, नेपाल प्रहरी सहितको टोलीले सडकको ग्राभेल उठाउन शुरु गरेपछि केही व्यवसायीले विरोध गरेका थिए । नगरपालिकाले दिएको समय कम भएको व्यवसायीहरुले बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. २ का पुरन ठकुल्लाले वर्ष दिन लगाएर जम्मा गरेको सामान एक महिनामै उठाउन नसकिने बताए । ‘वर्षदिन लागेर जम्मा गरेको सामान एकैपटक कसरी सकिन्छ ?’ उनले प्रश्न गरे ‘वर्षाको समयमा लेबर नपाएर, खाली जग्गा नपाएर समेत हामीलाई समस्या भएको छ, समय पर्याप्त दिनुपर्छ ।’
उनले एक शय पचास ट्राली ढुंगा एक हप्तामा उठाउनु परेको बताए ।