टीकापुर, असार ७
धनगढी उपमहानगर पालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । नगर प्रमुख गोपाल हमालले नगर सभाको आठौं अधिवेशनमा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम अटाएका छन भने केही पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
नीति तथा कार्यक्रममा धनगढीका जनप्रतिनिधिले पाँच वर्षे कार्यकाललाई ‘हाम्रो धनगढी हामी बनाउछौं’ महाअभियानको रुपमा मनाउने उल्लेख गरिएको छ। नगरको एकीकृत, सन्तुलित, दिगो, योजनावद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरण सहितको पहिलो पञ्चवर्षीय आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै उपमहानगरमा पूर्वाधार एम्बुलेन्स सञ्चालनको योजना पनि अटाएको छ ।
‘उपमहानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी बनाइएको संरचनाहरु हटाई सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ’ नीति तथा कार्यक्रममा उल्लेख छ । सार्वजनिक जग्गाहरूमा शौचालय, हरियालीसहितका क्याफ्टेरिया, पार्किङस्थल, बालमैत्री उद्यान, योगपार्क, ध्यान केन्द्र तथा ज्येष्ठ नागरिकमैत्री पार्कहरु र खुल्ला क्षेत्रहरुको रुपमा विकास गरिने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने पनि उल्लेख छ।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका सरसफाई वर्षका रुपमा मनाउने नीति लिएको छ। उपमहानगरपालिकाले नगरमा शून्य लागत प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गर्ने जनाएको छ। उपमहानगरपालिका हरेक वडामा मासिक रुपमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक संचालन गरि ‘घरमा चिकित्सक’ कार्यक्रममार्फत विशेषज्ञ सेवालाई नागरिकको घरदैलोमा पुर्याउने जनाएको छ ।