Hamro Patra
शैक्षिक संस्थाको मात्रै साढे तीन सय विघा जमिन अतिक्रमण

योगेश रावल
टीकापुर, बैशाख २७
टीकापुर नगरपालिका–१ मा मात्रै विभिन्न शैक्षिक संस्थाको साढे तीनसय विघा जमिन अतिक्रमणमा छ । सो जमिन केही व्यक्तिहरुले भूमिहिन, सुकुम्बासी, मुक्त कमैया र बाढी पीडितका नाममा वर्षौदेखी अतिक्रमण गरेका छन ।

सबैभन्दा बढी टीकापुर बहुमुखी क्याम्पसको ३०० विघा जमिन अतिक्रमणको चपेटामा छ । त्यस्तै बिरेन्द्र विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठीको ३२ विघा, खड्ग मेमोरियल स्कुलको ८ विघा र रामपुर कृषि विश्वविद्यालय मार्फत सञ्चालित प्राकृतिक स्रोत व्यवस्थापन कलेज (कृषि क्याम्पस) को १० विघा जमिन समेत अतिक्रमणमा छ ।

आफूलाई भूमिहिन, सुकुम्वासी, मुक्त कमैया र बाढी पीडित दावी गर्ने ती व्यक्तिहरुले अतिक्रमित जमिनमा घरटहरा निर्माण गर्नुका साथै खेतीपाती समेत गर्दै आएका छन । कतिपयले सडक छेउछाउमा जोडिएको ठाउँमा पसलका साथै होटल रेस्टुरेन्ट समेत सञ्चालन गरेका छन ।

Khadga Memorial And Janajagriti

सो जमिन खरिद बिक्री समेत हुने गरेको छ । जमिन खरिद बिक्रीमा केही टाठाबाठा व्यक्तिहरुको संलग्नता रहेको छ । ती व्यक्तिहरु विभिन्न राजनीतिक दलसँग आवद्ध छन । उनीहरुले राजनीतिक शक्तिका आडमा जमिन किनबेच गरेर मनग्गे आम्दानी गरेको स्रोतको दावी छ । ‘अतिक्रमणकारीको नाईके बनेर केही व्यक्ति धनाढ्य बनेका छन’ एक व्यक्तिले भने–‘एक कठ्ठा घडेरी ५ लाखसम्ममा बिक्री भएको छ ।’

टीकापुर बहुमुखी क्याम्पसको जमिन २०६३ असार २४ गते मुक्त कमैयाका नाममा अतिक्रमण सुरु भएको हो । सुरुवातमा जितबहादुर चौधरी नेतृत्वका केही व्यक्तिहरुले २२ वटा घरटहरा निर्माण गरेका थिए । अहिले सो जमिनमा करिव १ हजार ५ सय घरटहरा निर्माण भएका छन । त्यहाँ २५२ घरटहरा कथित मुक्त कमैयाका छन भने बाँकी सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लाबाट बसाई सरेका कथित भूमिहिन र सुकुम्बासीका छन । उनीहरु अछाम, बाजुरा, सुर्खेत, डोटी, दैलेख लगायतका जिल्लाबाट बसाई सरेर आएका हुन ।

अतिक्रमण हुन थालेपछि सुरुवाती चरणमा क्याम्पस प्रशासनले कथित मुक्त कमैयाहरुसँग २०६३ असार २९ गते छलफल गरेको थियो । दुवै पक्षबीच वर्षायाम सकिएसँगै अतिक्रमित जमिन खाली गर्ने सहमति समेत भएको थियो । तर दुर्भाग्य भदौ महिना सुरु भएसँगै थप जमिन समेत अतिक्रमणको क्रम तिब्र बन्यो । कथित भूमिहिन र सुकुम्बासीका नाममा भित्रिएका व्यक्तिहरुले क्याम्पसको पूरै जमिन कब्जा गरेका थिए ।

क्याम्पसको जमिन मुक्त कमैयाका नाममा अतिक्रमण भएपछि यता सार्वजनिक शैक्षिक गुठी र खड्ग मेमोरियलको जमिन बाढी पीडितका नाममा अतिक्रमण भयो । २०६४ मा आएको बाढीले प्रभावित बनेका टीकापुर नगरपालिकाका विभिन्न वडाका बासिन्दाले जमिन अतिक्रमण गरेका थिए । उनीहरु मध्ये अधिकांश घर फर्किएका छन भने तर पहाडी जिल्लाबाट झरेकाहरुले भने अतिक्रमण गरिरहेका छन ।

‘सुरुमा बसेकाहरु आफ्नै ठाउँ फर्किएका छन’ बिरेन्द्र विद्या मन्दिर उच्च माविका प्राचार्य यज्ञ ज्ञवालीले भने–‘त्यसपछि बसेकाहरुले अहिलेसम्म कब्जा गरिरहेका छन ।’

यो जमिन सबै शैक्षिक संस्थालाई तत्कालिन टीकापुर विकास समितिले निशुल्क उपलब्ध गराएको थियो । टीकापुर बहुमुखी क्याम्पसले जमिनको पूर्जा प्राप्त गरेको छ भने अन्यले अस्थायी पूर्जा पाएका छन । समितिले खड्ग मेमोरियललाई दिएको ८ विघा जमिन बेचेर अक्षयकोष स्थापना गर्ने निर्णय गरेको थियो । स्कुलले प्राप्त जग्गा आफ्नो अधिनमा आउनु अगावै अतिक्रमणको चपेटामा परेको छ ।

‘जग्गा बेचेर स्कुल सञ्चालनका लागि अक्षयकोष स्थापना गर्ने निर्णय भएको थियो’ प्राचार्य हिरण्य शर्माले भने–‘तर सुरुदेखी नै जग्गा कब्जामा छ ।’

प्राकृतिक स्रोत व्यवस्थापन कलेज (कृषि क्याम्पस) ले जमिन अतिक्रमणको समस्याले भौतिक संरचना निर्माणमा ढिलाई भएको जनाएको छ । क्याम्पस प्रमुख ओम प्रकाश सिँहले टेण्डर भएर काम अघि बढ्ने बेलामा समस्या देखा परेको बताए । उनले जमिनमा घेरावार गर्न समेत समस्या भएको जानकारी दिए ।

‘हामीले आफ्नो जमिनमा तारवार समेत गर्न पाएका छैनौं’ उनले भने–‘अतिक्रमणले कलेज निर्माणको काम प्रभावित भएको छ ।’
त्यहाँ पहिलेदेखी नै केही घर टहरा निर्माण भएका थिए । पछिल्लो समयमा अरु थप घर टहरा निर्माण हुने क्रम बढेको छ ।

विभिन्न राजनीतिक दलहरुले भोट बैंकका रुपमा प्रयोग गर्ने लालचमा अतिक्रमणकारीलाई सहयोग गरेको देखिन्छ । सुरुमा उनीहरुले आफ्ना कार्यकर्तालाई नै जमिन अतिक्रमणका लागि उक्साएका थिए । अहिले पनि केही राजनीतिक दलले उनीहरुलाई संरक्षण गर्दै आएका छन ।

अतिक्रमणकारीहरुलाई राजनीतिक दलकै सिफारिसमा विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरुले सहयोग गर्दै आएका छन । अतिक्रमित क्षेत्रमा विद्यालय स्थापना भएका छन । ती विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले समेत सहयोग गरेको छ । अतिक्रमित क्षेत्रमा बाटाघाटा निर्माण भएका छन ।

टीकापुर बहुमुखी क्याम्पस प्रशासनले अतिक्रमित जमिन खाली गराउन निकै पहल गरेको थियो । विभिन्न समयमा सरोकारवालासँग छलफल गर्नुका साथै विरोधका कार्यक्रम समेत गरेको थियो । राजनीतिक दलको असहयोगका कारण क्याम्पस प्रशासनको पहल सफल हुन सकेन । ‘टीकापुर बजार बन्द ग¥यौं, राजमार्गमा चक्काजाम ग¥यौं । तैपनि कुनै सुनुवाई हुन सकेन’ क्याम्पस प्रमुख केशरबहादुर कुँवरले भने–‘३÷४ वर्ष यता थाकेर चुप लाग्नु प¥यो ।’

टीकापुरमा जमिन अतिक्रमणको मुद्दा निकै पेचिलो बनेको छ । राजनीतिक दलहरुकै संरक्षणका कारण यो समस्या पेचिलो बनेको हो । उनीहरु अतिक्रमित जमिन खाली गराउने सवालमा एकमत भएको देखिदैन । जसका कारण अतिक्रमणकारीहरुले चलखेल गर्ने मौका पाईरहेका छन । उनीहरु अतिक्रमण गरेर बसेको जमिन आफूहरुकै नाममा दर्ता हुनुपर्ने जस्ता माग अघि सारेर आन्दोलित हुन थालेका छन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update