टीकापुर, असार ४
गेटास्थित मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । आज धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
भवन उद्घाटन सभामा उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री समक्ष माग राखेका थिए । सोही सभामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने विषय उल्लेख गरे ।
यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक देखिएका छन् ।
‘यस विषयमा काठमाडौं फर्किएर मन्त्रीपरिषद्बाट निणर्य गर्छु,’ उनले भने, ‘कानुन बनाएर गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइन्छ ।’
भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने आवाज विगतदेखि नै उठ्दै आएको छ।
यसका साथै उक्त निर्माण सकिएको मेडिकल कलेजको प्रारुप तयार गरेर तत्काल सञ्चालन गर्नुपर्ने माग उठ्दै आएको छ।