Hamro Patra
विद्युतको नाङ्गो तार चार दिनदेखि सडकमाः कार्यालय भन्छ पैसा जम्मा नहुँदासम्म काम हुन्न

टीकापुर, असार ३

एक यात्रुबाहक बस ठोक्किँदा विद्युतको पोल भाँचिएर सडकमा लत्रिएको विद्युतको तार चार दिनसम्म पनि उठेको छैन ।

टीकापुरको मुख्य सडक टीकापुर लम्की सडकखण्डको जमरापुल नजिकै जेठ ३१ गते ना.४ ख. २२३२ नम्बरको बस पोलमा ठोकिएर तार लत्रिएको थियो ।

Khadga Memorial And Janajagriti

बसका कारण तीनवटा विद्युतको पोल ढलेका छन् । विद्युतको नांगो तार चार दिनदेखि सडकमै छ । बस इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा छ । पोल ढल्दा विद्युतको तार, टेलिकमको तार तथा इन्टरनेटका तारहरु समेत सडकमै छन् ।

चार दिन बित्दा समेत सडकमा लत्रिएको तार नउठ्दा आवातजावतमा सास्ती भएको छ । स्थानीय ललिता परियारले भने ‘आउजाऊ गर्न समेत समस्या छ, नाङ्गो तार सडकमा हुँदासम्म विद्युत कार्यालयले हटाउन पहल गरेको छैन ।’

स्थानीय व्यापारीहरुले समेत सडकमा तार भएका कारण समस्या भएको बताए । विद्युत पोल ढल्दा जमरापारी रहेको विष्ट आयल स्टोर जान समेत समस्या भएको छ ।

झण्डै दुई शय मिटर तार सडकमा परिरहँदा समेत नेपाल विद्युत प्राधिकरणको टीकापुर शाखाका प्रमुख माधव महतले पोलमा ठक्कर दिने यात्रुबाहक बसले क्षतिपूर्ति नतिर्दासम्म सडकबाट तार हटाउन नसकिने बताए ।

महतले भने ‘बस प्रहरीको नियन्त्रणमा छ, हामीले झण्डै ७० हजारको इस्टिमेट गरेका छौं, त्यो रकम जम्मा भएपछि हटाउँछौं ।’

नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय टीकापुरका प्रमुख माधव महतसँगको कुराकानी सुन्नुहोस्ः

 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update