बाजुरा, जेठ २
बुढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गतेका लागि तोकिएको छ । ७५३ वटा स्थानीय निकायमध्ये बाजुराको बुढीगंगा बिहीबार बसेको सर्वदलीय बैठले असार २३ गते निर्वाचन गर्न सहमत भएका हुन्।
यसअघि नगरपालिकामा निर्वाचनमा धाँधली भएको भन्दै स्थगित गरिएको थियो । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा नेकपा एमालेले वडा नम्बर २,३,५ र ९ मा बुथ कब्जा गरेको, कांग्रेसले वडा नम्बर ४ मा अध्यधिक मतदान गरेको र वडा नम्बर सातमा बुथ कब्जा गरेको आरोप लागेको थियो ।
नेकपा एमालेले धाँधली गरेका वडाहरूबाट सुरक्षाकर्मी फिर्ता भएका थिए । उक्त धाँधलीलाई लिएर जिल्ला सुरक्षा समितिले बुढीगंगा नगरपालिका पुरै निर्वाचन स्थगित गर्ने निणर्य गरेको थियो ।
निर्वाचन आयोगले स्थलगत अनुगमन गर्दै निर्वाचन सम्पन्न भएको १४ औं दिनपछि पुनः निर्वाचन गर्न,सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई तीन दिनभित्र परिवर्तन गरिसक्न गृहमन्त्रालयलाई निर्देशन दिएको थियो।
नेपाली कांग्रेसबाट नगरप्रमुखका लागि रंगबहादुर खाति,उपमेयरमा रिता शाही र एमालेबाट नगरप्रमुखमा राम बहादुर बानियाँ र उपप्रमुखमा माया कुँवरले उम्मेदवारी दिएका छन्।