Hamro Patra
काँग्रेस महासमिति सदस्य चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

टीकापुर, जेठ २

नेपाली काँग्रेसका महासमिति सदस्य अरुणकुमार चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बिच चौधरी उक्त पार्टीमा प्रवेश गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आजदेखि काँगे्रस परित्याग गरेको भन्दै स्टाटस लेखेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट लम्कीचुहा नगरपालिकाको मेयरमा पराजित भएका चौधरी नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं. २ प्रदेश ‘क’ मा चुनाव लडेका थिए । उनी काँग्रेसका १४औं महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भएका थिए ।

Khadga Memorial And Janajagriti

त्यस्तै काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रदीपकुमार चौधरी समेत नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जानकी गाउँपालिकामा अध्यक्षको प्रत्यासी रहेका उनलाई पार्टीले टिकट दिएको थिएन । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । फोरम काँग्रेसमा विलय भएको थियो ।

त्यसैगरी नेकपा एमालेका नेता केवालाल चौधरी समेत नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । २०५४ सालको स्थानीय चुनावमा साविक प्रतापपुर गाउँ विकास समितिका अध्यक्षमा निर्वाचित चौधरी नेकपा एमालेमा सक्रिय रहँदै आएका थिए । चौधरीले समेत सामाजिक सञ्जाल फेसबुकमा आजदेखि नयाँ राजनीतिक यात्राको शुरुवात गरेको भनेका छन् । नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई पार्टीमा स्वागत गरेकी हुन् ।

उक्त पार्टीका केन्द्रिय सदस्य रमेश विश्वकर्माले अरुणकुमार, प्रदीपकुमार र केवालालसहित दर्जनौं नेता कार्यकर्ता पार्टीमा प्रवेश गरेको बताए ।

चार महिना अघि दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीको पूर्वी क्षेत्रका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा जित हात पारेको थियो ।

टीकापुर घटनालाई राजनीतिक घटना बनाउँदै निलम्बित सांसद रेशमलाल चौधरीसहितका बन्दीहरुको रिहाईको माग गर्दै उक्त पार्टी दर्ता भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update