Hamro Patra
हावाहुरीले लाखौंको केराखेती नष्ट

टीकापुर, जेठ २९

कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले केरा खेतीमा ठूलो क्षति पुर्याएको छ । हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको केरा कृषकले बताएका छन् ।

Khadga Memorial And Janajagriti

टीकापुरका केरा किसान टेकेन्द्र धामीको झण्डै दश बिघामा लगाएको केरा हावाहुरीले ढालेको बताए । ‘केरा बजार पठाउने तयारी भइरहेका बेला हावाहुरीले बोट ढालिदिएको छ’ धामीले भने ‘यस वर्ष समेत हामीलाई लाखौंको नोक्सानी भएको छ ।’

केरा व्यवसायी अनिल कुँवरले समेत हावाहुरीले पसाएको केराबारीमा ठूलो नोक्सानी पुगेको बताए । केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन् ।

टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ । टीकापुर क्षेत्रमा मात्रै झण्डै ८ शय विघा केराखेती हुँदै आएको छ ।

हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ । लहरे तरकारी बालीमा हावाहुरीले क्षति पुर्याएको कृषक विकास चौधरीले बताए ।

यस्तै हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूणर् क्षति भएको छ । हावाहुरीका कारण टीकापुर नगरपालिका वडा नं. १ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।

त्यस्तै टीकापुर-४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ । हावाहुरीका कारण यहाँ सयौँ घरका छानामा भएका जस्तापाता उडाएका, विद्यालयका छाना उडाएका र ठाउँ-ठाउँमा बिजुलीका पोल ढलेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update