टीकापुर, जेठ २८
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटको आकार बढाउने भएको छ । प्रदेशले चालू आर्थिक वर्षको तुलनामा आकार बढाएर ल्याउने तयारी गरिरहेको हो ।
प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा वृद्धि भएकाले आकार बढाएर बजेट ल्याउने प्रदेश सरकारले तयारी थालेको हो । आगामी आर्थिक वर्षको बजेट ३३ देखि ३५ अर्बको बीचमा रहने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले जानकारी दिए ।
‘प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको आकार पहिलेको बजेटको भन्दा केही ठूलो आकारमा ल्याउँछ’ मन्त्री रावलले भने । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।
मन्त्री रावलका अनुसार कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य बजेटको मुख्य प्राथमिकतामा परेको छ । यसैगरी, प्राकृतिक विपदमा परेकालाई राहत दिने खालको कार्यक्रम पनि प्राथमिकताका साथ बजेटमा समेटिने उनले बताए । सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले बढी मान्छे प्रभावित हुँदै आएका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेटका आधारको रुपमा प्रदेश सभामा विनियोजन विधेयक र नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । त्यही विनियोजन विधेयक र नीति तथा कार्यक्रमलाई केन्द्र बनाएर बजेट आउने मन्त्रालयका प्रवक्तासमेत रहनु भएका उपसचिव तुल्सीप्रसाद भट्टराईले बताए ।
‘विनियोजन विधियेकको उद्देश्य, सिद्धान्त, प्राथमिकता र नीति तथा कार्यक्रमको पेरिफेरिमा रहेर आगामी आर्थिक वर्षको बजेट आउने हो’ उनले भने ‘पञ्चवर्षीय योजनाको आधारपत्रका आधारमा योजनालाई बजेट बाँडफाँट हुनेछ ।’