टीकापुर, जेठ २७
गर्मीका कारण विद्यार्थीहरुलाई समस्या देखिन थालेपछि कैलालीका स्थानीय तहले विदा दिन थालेका छन् । लामो समयसम्म पानी नपर्दा गर्मी बढेको भन्दै स्थानीय तहहरुले विदा दिन शुरु गरेका हुन् ।
आज कैलालीको टीकापुर नगरपालिकाले छ दिन विद्यालय बन्द गर्ने निणर्य गरेको छ । नगरपालिकाले जेठ २९ गतेदेखि असार ३ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निणर्य गरेको हो ।
टीकापुर नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापक र सरोकारवालाहरुको जेठ २६ गते बसेको बैठकले छ दिन विद्यालय बन्द गर्ने निणर्य गरेको नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले बताए ।
‘२८ गते शनिवार छ, उता असार ४ गते समेत शनिबार परेकाले अब ५ गते आइतबारदेखि विद्यालय खुल्ने गरी निणर्य गरिएको हो’ चौधरीले भने ।
गर्मीका कारण विद्यार्थीहरुमा घमिरा आउने, रुखा लाग्ने, ज्वरो आउने तथा छाला सम्बन्धी रोगहरु देखा परेका थिए । यस वर्ष कैलालीमा विगत भन्दा बढी गर्मी भएको स्थानीयहरु बताउँछन् ।