गृहमन्त्री बालकृष्ण खाणले बर्दिया घटनामा गोली हान्ने आदेश नभएको स्पष्ट पारेका छन्। मंगलबार संसद बैठकमा बोल्दै गृहमन्त्री खाडले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नभएको बताएका हुन् ।उनले नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै बर्दियाको घटनामा दोषीमाथि कारबाही हुने बताए।
गृहमन्त्री खाडले घटनाको छानबिन र आवश्यक कारबाहीका लागि ५ सदस्यीय समिति गठन गरेको समेत जानकारी दिए। बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा सोमबार प्रहरी र स्थानीयबीच झडप हुँदा १ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए। घटनामा मधुवन नगरपालिका–२ निवासी १८ वर्षीया नबीना चौधरीको मृत्यु भएको थियो।
सोमबार घरकै बारीमा दाउरा भाँचिरहेको अवस्थामा चितुवाले आक्रमण गरी मधुवन सोनाहाकी ४१ वर्षीया अस्मिता थारू घाइते भएपछि वन्यजन्तुबाट सुरक्षाको माग गर्दै स्थानीय सामुदायिक वनका समुदाय सडकमा उत्रिएको थियो। सडक खुलाउने क्रममा प्रहरी र समुदायबीच झडप हुँदा सो घटना भएको हो।
आक्रामक बाघ स्थानान्तरण गरिनुपर्ने, जंगल क्षेत्रमा तारबार गरिनुपर्ने समुदायलाई सुरक्षा दिइनुपर्ने समुदायको माग छ। झडपका क्रममा जनपद प्रहरीका १२ जना र शसस्त्र प्रहरीका ७ जना गरी १९ जना सुरक्षाकर्मीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदेश सापकोटाले बताएका छन्। स्थिति नियन्त्रण लिन सुरक्षाकर्मीले २० सेल अश्रुग्यास प्रहार गरेको थियो।
भारतको कर्तनियाघाट वन, विहार र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविक मार्ग खातामा वन्यजन्तुहरूको संख्या वृद्धि भएसँगै आक्रमणको क्रम बढेको छ। जेठ १० गते सोही क्षेत्रको जनजागृति सामुदायिक वनमा बाख्रा चराउन गएकी मधुवन नपा–२ निवासी ४७ वर्षीया कौसिला पालको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको छ। वन्यजन्तुको आक्रमण न्यूनीकरण गर्दै सुरक्षित संरक्षण हुनुपर्ने स्थानीयको माग छ।