Hamro Patra
जानकी गाउँपालिकाको पहिलो निणर्यः टीकापुर घटना राजनीतिक हो

टीकापुर, जेठ १९

कैलालीको जानकी गाउँपालिका गाउँ कार्यपालिकाको पहिलो बैठकले २०७२ सालको टीकापुर घटनालाई राजनीतिक घटना भनेको छ ।

गाउँपालिकामा आज सम्पन्न भएको पहिलो बैठकबाट उक्त घटनालाई राजनीतिक घटनाका रुपमा बुझ्न बुझाउन भनेको हो । २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा ७ जना सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो । थरुहट थारुवान राज्यको माग गर्दै प्रदर्शन गरिरहेका बेला उक्त घटना भएको थियो ।

Khadga Memorial And Janajagriti

नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका गणेश चौधरीले टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा सरकारले नलिएकाले आफूहरुले दबाव दिने उद्देश्यले उक्त निणर्य गरेको बताए ।

‘थारु समुदायले राजनीतिक मागसहित गरेको आन्दोलनका क्रममा भएको घटना हो, यसलाई राजनीतिक रुपमा नै बुझ्नुपर्छ’ अध्यक्ष चौधरीले भने ‘आफ्नो पहिचान सहितको राज्य माग गर्दै भएको घटनालाई सरकारले राजनीतिक घटना भनेको छैन, हामी स्थानीय सरकारले उक्त घटनालाई राजनीतिक घटना हो भनेर निणर्य गरेका छौं ।’

थारु समुदायले पटक पटक टीकापुर घटनालाई सरकारले राजनीतिक घटनाका रुपमा लिनुपर्ने माग गर्दै आएको छ । ‘थारु समुदायबाटै पटक पटक त्यो कुरा उठेको छ’ अध्यक्ष चौधरीले भने ‘हामीले गरेको निणर्यले प्रदेश र संघीय सरकारलाई समेत दबाव पुग्नेछ ।’

टीकापुर घटनाका मुख्य आरोपित भनिएका निलम्बित सांसद रेशमलाल चौधरीसहितका ७ जना बन्दीहरुलाई रिहाई गर्दै टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिनुपर्ने मागसहित नागरिक उन्मुक्ति पार्टी चुनावी मैदानमा उत्रिएको थियो । उक्त मुद्दालाई खारेज गर्नुपर्ने उनीहरुले माग गर्दै आएका छन् ।

नागरिक उन्मुक्तिले जानकीसहित जोशीपुर गाउँपालिका, टीकापुर र भजनी नगरपालिकामा जितेको छ । यसअघि भजनी नगरपालिकाले समेत टीकापुर घटनालाई राजनीतिक घटना भनेको थियो ।

यही घटना र थारु समुदायको पहिचानको माग गर्दै निलम्बित सांसद चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा झण्डै चार महिना अघि नागरिक उन्मुक्ति पार्टी दर्ता भएको थियो ।

त्यस्तै कार्यपालिकाले छिमेकी गाउँ तथा नगरपालिकासँगको सहकार्यमा सामुदायिक पशुचौपायाहरुको व्यवस्थापन गर्ने निणर्य गरेको छ । गाउँपालिका अध्यक्ष चौधरीले भने ‘यो समस्या सबैको उस्तै हो, सबैसँग सहकार्य गरेर यसको दीगो व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर सहकार्य गर्ने निणर्य गरेका छौं ।’ उनले गाउँ सभा असार ७ र ८ गते गर्ने निणर्य समेत गरिएको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update