टीकापुर, जेठ १९
कैलालीको मध्यवर्ती सुख्खडस्थित इलाका प्रहरी कार्यालयबाटै एक जना थुनुवा हत्कडीसहित फरार भएका छन् । बुधवार मेडिकल चेकजाँचका लागि घोडाघोडी अस्पताल लगिएका साँढेपानी वडा नं. २ का २४ वर्षीया कृष्ण पाण्डेय हत्कडीसहित फरार भएका हुन् ।
जेठ १४ गते साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । दुवैजनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद जोशीले जानकारी दिए ।
दुवैलाई जेठ १८ गते पेटको समस्या भन्दै उनीहरूलाई मेडिकलका लागि लगिएको थियो । दुवै जनालाई म्याद थप गरी इलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको थियो । अहिले फरार भएका थुनुवालाई खोजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।