Hamro Patra
संसदमा बजेट प्रस्तुतः कैलालीमा के के योजना परे बजेटमा  ?

टीकापुर, जेठ १५

संघीय सरकारले आज संसदमा बजेट प्रस्तुत गरेको छ । बजेटमा विभिन्न नीति तथा कार्यक्रमहरु समावेश गरिएका छन् । अर्थमन्त्री जनाद्र्धन शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा कैलालीका मुख्य रुपमा कुन कुन आयोजना समावेश भएका छन् त ? सदनमा प्रस्तुत गरिएको बजेट भाषणमा यी योजनाहरु समावेश गरिएका छन् ।

टीकापुर विमानस्थल

Khadga Memorial And Janajagriti

टीकापुरमा रहेको विमानस्थलको स्तरोन्नती गरिने भएको छ ।

अर्थमन्त्री शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा टीकापुर विमानस्थलको स्तरोन्नती गर्न बजेट विनियोजन गरेको जनाए ।

रानी, जमरा, कुलरिया सिचाईं आयोजना

निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनाद्र्धन शर्माले रानी जमराको नयाँ निर्माण भएको नहरबाट सिचाईं सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए ।

सेती लोकमार्ग

सेती लोकमार्गको टीकापुर-उरै भन्ज्याङ सडक खण्ड निर्माण गरिने भएको छ । कैलालीको टीकापुरदेखि बझाङको उरै भन्ज्याङ सडक खण्डको निर्माण कार्य अगाडी बढाउन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा सडक खण्डको स्तरोन्नति तथा निर्माण सम्पन्न गरिने बताएका छन् ।

लम्कीमा ट्रामा सेन्टर

सरकारले आगामी बजेटबाट कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गर्ने जनाएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने बताए । सुदूरपश्चिममै पहिलो पटक लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने भएको हो ।

फाप्ला क्रिकेट मैदान

सरकारले आगामी बजेटबाट धनगढीको फाप्लामा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट मैदान र खेलग्राम निर्माण गरिने जनाएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए ।

धनगढी विमानस्थल

सरकारले आगामी बजेटबाट धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । अर्थमन्त्री शर्माले धनगढी विमानस्थललाई स्तरोन्नति गरेर क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गरिने बताए ।

अहिले धनगढी विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहणको कार्य अगाडि बढाइएको छ । त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले एक अर्ब बजेट विनियोजन गरेको छ भने चार किल्ला सिमांकनको कार्य भइरहेको छ ।


गेटा मेडिकल कलेज

सेती र महाकाली अस्पतालको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सेती र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा गेटामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका हुन् ।

यस्तै उक्त मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने पनि बजेट भाषणमा अर्थमन्त्री शर्माले जनाए । गेटा मेडिकल कलेजमा पूर्वाधार विकासको काम ९० प्रतिशत सकिएको छ । सञ्चालनका लागि ढिलाई भएको भन्दै अहिले कैलालीमा चरणवद्ध आन्दोलन भइरहेको छ ।

सुदूरपश्चिममा उद्योग खोले कर छुट

कणाली र सुदरपश्चिममा उद्योग खोलेर रोजगारीमा योगदान गर्नेलाई सरकारले कर छुट दिने भएको छ ।

अर्थमन्त्री शर्माले पहाडी जिल्लामा एक शयभन्दा बढी रोजगारी दिने गरी उद्योग सञ्चालन गरेमा पूणर् रुपले आयकर छुट दिने घोषणा गरेका हुन् । त्यस्ता उद्योगले १५ वर्षसम्म आयकरमा पूणर् रुपले छुट पाउनेछन् ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update