Hamro Patra
धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रीकेट एकेडेमीलाई

धनगढी, जेठ १४

क्लब स्तरीय टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रीकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रीकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले १ लाखमा चित्त बुझायो । 

Khadga Memorial And Janajagriti

कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रीकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८.३ ओभरमा १ सय १८ रन मात्रै बनाउन सक्यो । उसका लागि दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए । बलिङ तर्फ महेन्द्रनगरका सन्तोष भट्टले महत्त्वपूर्ण ४ विकेट लिए । हेमन्त धामी र विपिन धामीले समान २÷२ तथा राहुल भण्डारी र विकास आग्रीले समान १/१ विकेट लिए । 

त्यस अघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए । उसका राहुल भण्डारी, हेमन्त धामी र विकास आग्रीले समान १३/१३ रन बनाए । बलिङ तर्फ लिटल फ्लावरका कृष्ण कार्कीले ३, दीपक बोहरा र कुशल रुपाखेतीले २/२ तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान १/१ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दी म्याच सन्तोष भट्ट घोषित भए । 

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित भए । उनले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रीकेट एकेडेमीका राजु रिजाल, उत्कृष्ट बलर घोषित भएका धनगढी क्रीकेट एकेडेमीका हिक्मत महरा प्रतियोगिताका उदीयमान खेलाडी समेत बन्न सफल भए । उनीहरूले जनही ७ हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

विजेताहरूलाई एक समारोहकाबिच सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, होटेल डीभोटीका जनरल म्यानेजर हरिस भण्डारी, आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा.लि. का अध्यक्ष रामचन्द्र शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।   

फागुन ६ गतेबाट सुरु भएको टी–२० क्लब क्रीकेट प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी सहभागिता जनाएका थिए । 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update