Hamro Patra
टीकापुरमा कार्यपालिका सदस्यको लागि एघार जनाको उम्मेदवारी दर्ता

टीकापुर, जेठ १३

टीकापुर नगरपालिका कार्यपालिका सदस्यका लागि एघार जनाको उम्मेदवारी परेको छ । सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले दिएको जानकारी अनुसार आठ जना कार्यपालिका सदस्यका लागि तीनवटा पार्टीका एघार जनाको उम्मेदवारी दर्ता भएको हो ।

Khadga Memorial And Janajagriti

स्थानीय तहको निर्वाचनमा विजेता बनेका पाँच जना र बाहिरबाट तीन जना हुने गरी हुने कार्यपालिकाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट पाँच जनाको उम्मेदवारी परेको छ ।

नागरिक उन्मुक्ति पार्टीले तीन महिला सदस्यका लागि कैलाशपति चौधरी, रुपमति ड.थारु र सरस्वती तिरुवा र दुई दलित सदस्यका लागि दीपकबहादुर निसानी र मञ्जु वि.क.लाई उम्मेदवार बनाएको छ ।

त्यस्तै नेपाली काँग्रेसले दुई महिला सदस्यमा टंक वली कार्की र राजारानी चौधरीको नाम दर्ता गरेको छ । त्यस्तै दलित सदस्यमा रामबहादुर नगार्जीको उम्मेदवारी परेको छ ।

उता, नेकपा माओवादी केन्द्रले दुई दलित सदस्य दिलु कामी र चन्द्र नेपाली तथा एक महिला सदस्यमा लबरी चौधरीलाई उम्मेदवार बनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार कुनै पनि राजनीतिक दलले अल्पसंख्यकको नाम भने दिएका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update