टीकापुर, जेठ १३
कैलालीको मध्यवती घोडाघोडी नगरपालिकाबाट कैलाली प्रहरीले २५ लाख ६८ हजार भारतीय रुपियाँ र दुई तोला सुन बरामद गरेको छ ।
भारतको विभिन्न स्थानबाट भरतीय रुपैयाँसहित सुन चोरी गरी लुकाई छिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त रकम र सुन बरामद गरेको हो ।
घोडाघोडी नगरपालिका वडा नं. ८ र बर्दगोरिया गाउँपालिका वडा नं. ४ सुन्दरपुरबाट खेतबारीमा गाडेर लुकाइएको अवस्थामा नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।
प्रवक्ता जोशीका अनुसार घोडाघोडीबाट २३ लाख ४६ हजार भारतीय रुपियाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडिएको थियो । स्थानीय लालबहादुर थापाको घर नजिकबाट सो पैसा र सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैगरी, सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक भने स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपियाँ जमिनमा गाडिएको थियो । नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।