धनगढी, जेठ १२
कैलालीमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा तीन पालिका जित्दै दोश्रो भएको नेपाली काँग्रेसले ५७ वडामा जितेको छ । कैलाली जिल्लाका १३ स्थानीय तहका १ शय २६ वडामध्ये काँग्रेसले ५७ वडामा जितेको हो ।
जिल्लाको जोशीपुर र जानकी गाउँपालिकामा काँग्रेसले कुनै पनि वडा जित्न सकेन । २०७४ सालमा सम्पन्न निर्वाचनमा यी दुबै पालिकामा काँग्रेसले जितेको थियो । जोशीपुर पूर्वमन्त्री एवं काँगे्रसका केन्द्रीय सदस्य रामजनम चौधरी र प्रदेश उपसभापति जनकराज चौधरीको गाउँपालिका हो ।
कैलालीमा चार पालिका प्रमुख जितेर पहिलो दल बनेको नागरिक उन्मुक्ति पार्टीले १४ वटा वडा मात्र जितेको छ । उन्मुक्ति पार्टीले भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा जितेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले २९ वडामा जितेको छ । यद्यपि, नेकपा (एमाले) एक पालिकामा शून्य जनप्रतिनिधि रहेको छ । नेकपा (माओवादी केन्द्र) ले १९ वडामा जित हाँसिल गरेको छ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को भागमा २/२ वडा परेको छ । तीनवटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिका धनगढीमा काँग्रेसले ११, नेकपा (एमाले)ले ६ र नेकपा (माओवादी केन्द्र)ले २ वडा जितेका छन् । यस्तै गोदावरी नगरपालिकामा काँग्रेसले ७, नेकपा (एमाले)ले ४ वडा जितेका छन् । एक वडा स्वतन्त्र उम्मेदवारको पोल्टामा गएको छ ।
गौरीगङ्गा नगरपालिकामा नेपाली काँग्रेसले ५ वडा जितेको छ । त्यस्तै, नेकपा (एमाले)ले एक, नेकपा (माओवादी केन्द्र)ले ४ र नेकपा (एकीकृत समाजवादी)ले एक वडा जितेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
कैलारी गाउँपालिकामा नौवटै वडा काँग्रेसले ‘क्लिन स्विप’ गरेको छ । २०७४ को निर्वाचनमा सो पालिकामा ५ वडा नेकपा (माओवादी केन्द्र), २ काँग्रेस र २ अन्यले जितेका थिए । तर, यस पटक काँग्रेसले आफ्नो प्यानलसहित सबै वडामा जित हात पारेको छ ।
भजनी नगरपालिकामा काँग्रेस एक वडामै सीमित भएको छ । नेकपा (एमाले)ले २, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले ३/३ वडामा जित हात पारेका छन् ।
यसैगरी, चुरे गाउँपालिकामा काँग्रेसले २ वडा जितेको छ । नेकपा (एमाले)ले चारवटा वडामा जित्दा अन्य दल शून्यको अवस्थामा छन् । मोहन्याल गाउँपालिकामा काँग्रेसले ४ वडा जितेको छ । नेकपा (एमाले)ले एक र नेकपा (माओवादी केन्द्र) ले २ वडामा जित हात पारेका छन् ।
घोडाघोडी नगरपालिकामा काँग्रेसले ९, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले एक-एक वडा जितेका छन् । बर्दगोरिया गाउँपालिकामा काँग्रेसले एक, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले २/२ वडा जितेका छन् । एक वडामा स्वतन्त्रको जित भएको छ ।
यसैगरी जोशीपुर गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले एक-एक वडामा चित्त बुझाएका छन् । नागरिक उन्मुक्ति पार्टीले सबैभन्दा बढी चारवटा वडामा जित हात पार्यो । जनता समाजवादी पार्टीको भागमा एक वडा परेको छ ।
यसैगरी टीकापुर नगरपालिकामा काँग्रेस र माओवादी केन्द्र ३/३ वडामा विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीले २ वडा जित्दा नेकपा (एमाले)ले भने एक वडामै चित्त बुझाएको छ ।
यस्तै जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले सबैभन्दा बढी ५ वडामा जित हात पारेको छ । नेकपा (एमाले)ले ४ वडा जितेको छ । यो पालिकामा काँग्रेस भने वडामा समेत जितविहीन रह्यो । अध्यक्षमा पराजित भएको काँग्रेसले वडासमेत जित्न सकेन ।
दशवटा वडा रहेको लम्कीचुहा नगरपालिकामा काँग्रेसले सबैभन्दा बढी ५ वटा वडा जितेको छ । नेकपा (एमाले)ले २ वटा वडा जितेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रको भागमा भने एक-एक वटा वडा परेको छ ।