Hamro Patra
टीकापुर अस्पताल प्रदेश सरकारको प्राथमिकतामा छः मन्त्री बोहरा

टीकापुर, १२ जेठ

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले प्रदेश सरकार मातहत रहेको टीकापुर अस्पताल प्राथमिकतामा रहेको बताएका छन् । आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माण पूर्व अस्पतालको स्थलगत निरीक्षण गर्न आएका मन्त्री बोहराले सो कुरा बताएका हुन् ।

‘प्रदेश मातहत रहेका टीकापुर, महेन्द्रनगर र सेती प्रादेशिक अस्पताल मुख्य गरी हाम्रो प्राथमिकतामा छन्’ अस्पतालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहराले भने ‘यहाँ निर्माण भइरहेका भौतिक पूर्वाधारहरुको गुणस्तरीयतामा अस्पताल व्यवस्थापन समितिले विशेष ध्यान दिनुहोला ।’ मन्त्री बोहराले टीकापुर अस्पतालमा निर्माण भइरहेको सरुवा रोग अस्पतालको भवनको समेत निरीक्षण गरेका थिए ।

Khadga Memorial And Janajagriti

स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउँदै मन्त्री बोहराले बजेट परिमार्जन गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेटको मात्रा बढाउन गृहकार्य भइरहेको बताए ।

‘बाटोघाटो एक वर्ष पछि बने पनि हुन्छ’ मन्त्री बोहराले भने ‘तर स्वास्थ्य उपचार पछि गर्छु भन्न मिलेन, त्यसकारण अन्यत्र बजेट घटाएर भए पनि हामी बजेट थप्न पहल गरिरहेका छौं, यसका लागि संघीय सरकारसँग पनि हामीले कुरा राखेका छौं ।’

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले टीकापुुर अस्पतालमा कैलालीको मध्य भागदेखि, सुुर्खेत, डोटी र बर्दियाको पश्चिमी क्षेत्रका नागरिकले सेवा लिँदै आएकोले आवश्यकता अनुसार बजेट विनियोजन गर्नुपर्ने बताए ।

‘दैनिक पाँच शय बढी विरामीहरु उपचारका लागि आइरहेका छन्’ मन्त्री रावलले भने ‘उनीहरुलाई राम्रो उपचार दिन, उपकरण र जनशक्तिको समेत अभाव छ, यसका लागि राम्रो गुरुयोजना बनाएर जानुपर्छ ।’

कार्यक्रममा बोल्दै सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले टीकापुर अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गरिनुपर्ने बताए ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले मन्त्री बोहरा र रावललाई आठ बुँदे ज्ञापन पत्र बुझाएका थिए । पर्याप्त जग्गा जमिन भएर पनि अस्पतालको भौतिक संरचना, आर्थिक व्यवस्थापन र जनशक्ति व्यवस्थापन नहुँदा विरामीले उपचारमा समस्या भोग्नु परेको सोडारीले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update