धनगढी, जेठ ११
कैलालीको अत्तरियामा गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित संघर्ष समितिले दबाब कार्यक्रमको थालनी गरेको छ । सरकारको नीति तथा कार्यक्रममा सञ्चालनका लागि आधारभूत संरचना तयारी अवस्थामा रहेको गेटा मेडिकल कलेज नअटाएपछि दबाबमूलक कार्यक्रम थालनी गरिएको हो ।
आज संघर्ष समिति र युवाहरुको समूहले दबाबस्वरुप अत्तरियामा चक्काजाम गरेको छ । उनीहरुले करिब एक घण्टा चक्काजाम जारी रहने बताएका छन् । सञ्चालनको पर्खाइमा रहेको गेटा मेडिकल कलेजलाई सरकारले वेवास्ता गरिएको उनीहरुको भनाइ छ । निर्माण गरिएका संरचना अलपत्र हुनेगरि सरकारले वेवास्ता गरेकाले दबाब थालिएको उनीहरुले जनाएका छन् ।
सरकारले डडेल्धुरामा भने मेडिकल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर, गेटा मेडिकल कलेज त्यसमा अटाएको छैन । गेटा मेडिकल कलेजको २०७३/०७४ सालबाट निर्माण थालिएकोमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएपनि सञ्चालनमा आउन सकेको छैन ।