टीकापुर, जेठ ११
सरकारले सुदूरपश्चिमका नौवटै जिल्लामा विमानस्थलका लागि बजेट विनियोजन गर्यो । विमानस्थल नभएका जिल्लामा सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरियो । पहाडी जिल्ला अछामका दुईवटा विमानस्थल बजेटमा समेटिए । कालोपत्रे भैसकेका विमानस्थललाई मर्मतका नाममा बजेट दिईयो । तर कैलालीको टीकापुरस्थित विमानस्थल सरकारको नजरमा पर्न सकेन ।
टीकापुरबासीले सरकारको यस कदमको चर्को विरोध जनाए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले टीकापुरबासीको माग सम्बोधन गरे । उनले विमानस्थलका लागि दुई करोड रुपैयाँ विनियोजन गरे । अहिले सोही बजेट अन्र्तगत धावनमार्ग मर्मत र कार्यालय रंगरोगनको काम भैरहेको छ ।
सरकारको दुई करोड खर्च भएपनि विमानस्थल पुनः सञ्चालन हुने वा नहुने भन्ने बारेमा भने अझै अन्यौल छ ।
यो २०४१ सालमा निर्माण भएको विमानस्थल हो । यसको धावनमार्गको लम्बाई ५७३ मिटर मात्रै छ । तत्कालिन अवस्थामा यसको लम्बाई प्रयाप्त थियो । अहिले भने धावनमार्ग छोटो परेको छ । नेपालमा साना जहाजको संख्या निकै कम छ । विमान कम्पनीहरुले भएका साना जहाजलाई समेत पर्यटक लक्षित गरेर सञ्चालन गर्दै आएका छन । जसका कारण नेपालमा साना जहाजको अभाव भएको नागरिक उड्डयन प्राधिकरणका निर्देशक हंशराज पाण्डे बताउँछन ।
उनका अनुसार नेपाल वायुसेवा निगमसँग २, तारा एयरसँग ३, समिट एयरसँग २ र सीता एयरसँग ३ वटा मात्रै साना जहाज छन । ती मध्ये अधिकांश पर्यटकलाई लक्षित गरेर सञ्चालन भैरहेका छन । ‘साना जहाज चलाउन प्राविधिक रुपमा तयार छ’ उनले भने –‘ठूलो जहाज चलाउन धावनमार्ग बढाउनै पर्छ ।’
विमानस्थलको आसपासमा बस्ती बढेको छ । विमानस्थलका लागि भनेर छुट्याईएको जमिन समेत कित्ताकाट भएर बिक्री वितरण गरिएको छ । त्यहाँ ठूल्ठूला घर निर्माण भएका छन । धावनमार्ग बिस्तार गर्ने हो भने ती बस्तीलाई मुआब्जा दिएर अन्यत्र सार्नुपर्ने देखिन्छ । राज्यले यति ठूलो लगानी टीकापुर विमानस्थलका लागि गर्छ कि गर्दैन भन्ने कुरा महत्वपूर्ण रहेको नेकपा एमालेका नेता सम थापा बताउँछन ।
उनका अनुसार राज्यले फाइदा हुने ठाउँमा मात्रै लगानी गर्ने भएकाले टीकापुर विमानस्थल विस्तार हुने सम्भावना कम छ ।
विमानस्थल विस्तारमा समस्या भए अन्यत्र विकल्प खोज्ने बारेमा समेत बेला बेलामा चर्चा चल्ने गरेको छ । कतिपयले हाल नगर खेलकुदका नाममा रहेको जमिनमा विमानस्थल बनाउनु पर्ने र हाल विमानस्थल रहेको ठाउँलाई खेल मैदान बनाउने तर्क अघि सार्छन । कुनै अर्को ठाउँमा शुन्यबाट विमानस्थलको काम सुरु गर्ने कुरा असम्भव हुने लामो समयदेखी विमानस्थल पुनः सञ्चालनका लागि अगुवाई गर्दै आएका नवराज रावल बताउँछन ।
‘अर्को ठाउँमा एयरपोर्ट बनाउने कुरा सम्भव छैन’ उनले भने–‘राज्यले भएको एयरपोर्ट छोेडेर शुन्यबाट लगानी गर्दैन ।’
यो दुईवटा ठूला विमानस्थलको बिचमा छ । यसको ६० किलोमिटर पश्चिमतर्फ धनगढी र ६८ किलोमिटर पूर्वतर्फ नेपालगञ्ज विमानस्थल रहेको छ । ती दुई ठूला विमानस्थलको तिब्र विकास भैरहेका बेला यो विमानस्थल तर्फ राज्यको ध्यान जान नसक्ने आशंका पनि छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका विमानस्थलमा धनगढी र नेपालगञ्जबाट हवाई सेवा सञ्चालन भैरहेको छ । ती पहाडी विमानस्थलमा टीकापुरबाट समेत हवाई सेवा सञ्चालनमा आउन सक्ने नेपाली काँग्रेसका नेता चेतमान खत्रीको दावी छ ।
उनले अछाम, सुर्खेत, जुम्ला, बाजुरा, डोटी लगायतका जिल्लाका बासिन्दालाई टीकापुर विमानस्थल पायक पर्ने बताए । उनले छिमेकी मुलुक भारतका नागरिकलाई मानसरोवर लगायतका धार्मिक र पर्यटकीय क्षेत्रका लागि समेत यो विमानस्थल पायक पर्ने बताए ।
२०४६ साल सम्म विमानस्थल राम्रै सञ्चालनमा रह्यो । यहाँबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्ला मात्रै नभई काठमाण्डौंसम्म जहाज चल्थ्यो । पहाडी जिल्लामा यातायात सेवा पुग्यो । काठमाण्डौंसम्मको सडक यातायात सेवा समेत प्रभावकारी हुँदै गयो । जहाज चढ्नेको संख्या घट्दै गएपछि हवाई सेवा बन्द हुन पुग्यो ।
विमानस्थल पुनः सञ्चालन गर्न थुप्रै प्रयास भए । जसको फलस्वरुप २०४९ देखी २०५१ सम्म हवाई सेवा पुनः सुचारु भयो । यहाँ तत्कालिन शाही नेपाल वायुसेवा निगमले सेवा दिन्थ्यो । यात्रुको संख्या ठप्पै भएपछि २०५१ मा हवाई सेवा पुनः बन्द भयो ।
२०५८ बैशाख १० गते बन्द विमानस्थलको भवनमा तत्कालिन विद्रोही माओवादीले आगजनी गरे । आगजनी पश्चात विमानस्थलको भवन जिर्ण भयो । रेखदेख गर्ने कोही भएन । विमानस्थलको तारबार स्थानीयले काटेर फाले । विमानस्थल गौचरणमा परिणत भयो ।
२०६१ मा मुक्त कमैयाहरुले विमानस्थल अतिक्रमण गरे । त्यहाँ झण्डै चार सय घरपरिवारले घरटहरा निर्माण गरे । उनीहरुलाई केही राजनीतिक दलले संरक्षण दिए । विमानस्थल पुनः सञ्चालनको कुराले तिब्रता पायो । अतिक्रमण गरेर बसेका मुक्त कमैयाहरुलाई अन्यत्र सार्न राजनीतिक दल लगायत सहमत भए । मुक्त कमैयाहरु समेत स्थायी बसोबासको व्यवस्था भए विमानस्थल छोड्न तयार भए । उनीहरुलाई २०६९ मा त्यहाँबाट हटाईयो । मुक्त कमैयाहरुलाई टीकापुर नगर विकास समितिको मातहतमा रहेको जंगल क्षेत्रमा बसाईयो । उनीहरु अहिले पनि त्यही बसिरहेका छन ।
विमानस्थल पुनः सञ्चालनका लागि स्थानीय स्तरबाट व्यवशायी टीकाराम जोशीको संयोजकत्वमा समिति गठन गरियो । सो समितिले विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक बजेटको जोहो गर्ने उपाय खोज्न थाल्यो । यसै क्रममा मालपोत कार्यालय टीकापुरमा घरजग्गा किनबेच गरे वाफत अतिरिक्त कर संकलन गरियो । २०७० सालमा ३५ लाख रुपैयाँ संकलन भयो । पछि स्थानीयले विरोध गरेपछि सो कार्य रोकियो ।
समितिले तारा एयरसँग जहाज सञ्चालनका लागि कुरा गर्यो । संयोजक जोशीका अनुसार साताको एक दिन उडान भर्ने सहमति समेत भएको थियो । यसै क्रममा तारा एयरले २०७१ मा परिक्षण उडान समेत भरेको थियो । तर पछि विमान चल्न सकेन ।
हवाई सेवा सुचारु हुन नसके पछि समितिको चर्को आलोचना भयो । समितिले संकलन गरेको सबै रकम मोजमस्ती लगायतमा खर्च गरेको आरोप स्थानीयले लगाए । समितिलाई हवाई सेवा पुनः सञ्चालनमा ल्याउने कुरा टाउको दुखाईको विषय बन्यो । समितिले पत्रकार सम्मेलन गरेर संकलन भएको सबै रकम नगरपालिकाको जिम्मा लगायो ।
२०७३ मा विमानस्थल पुनः सञ्चालनका लागि सर्भेक्षण गरियो । करिव २१ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरियो । सरकारको नेतृत्वमा रहेकाहरुले बजेटको व्यवस्था गर्ने आश्वासन दिए । टीकापुरबासी सरकारको नेतृत्वमा रहेकाहरुको आश्वासनले हौसिए ।
टीकापुर उद्योग वाणिज्य संघले आयोजना गरेको टीकापुर महोत्सव २०७६ को एक सुत्रीय माग विमानस्थल पुनः सञ्चालन थियो । प्रमुख अतिथि तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल पुनः सञ्चालन हुने कुरामा विश्वस्त हुन आग्रह गरे ।
महोत्सव सकिएको केही दिन पछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनः सञ्चालनका लागि अध्ययन गर्न रत्नबहादुर श्रेष्ठको नेतृत्वमा टोली पठाएको थियो । त्यसपछि पनि पटक पटक धेरै टोली आएर अध्ययन गरेर फर्किने क्रम जारी रह्यो । तर ती टोलीले विमानस्थल पुनः सञ्चालनका बारेमा के कस्तो प्रतिवेदन बुझाएका छन भन्ने बारेमा सबै अनभिज्ञ नै छन ।
यसै क्रममा जनकराज शाह नेतृत्वको एक अर्को टोली टीकापुर पुगेर फर्केको छ । टोलीले टीकापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था लगायतसँग छलफल गरेको छ । बन्द विमानस्थल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न बनेको टोलीले देशभरका सात विमानस्थलको अध्ययन गर्ने बताईएको छ ।
टोली संयोजक शाहले विमानस्थल सञ्चालन पश्चात हुने व्यवशायिक पक्षका बारेमा अध्ययन भैरहेको बताए । उनले स्थानीय स्तरको अध्ययन पश्चात विमान कम्पनीहरुसँग समेत छलफल गर्ने जानकारी दिए ।
‘हामी विमान कम्पनीलाई घाटा नाफाका कुरा भन्ने छौं’ उनले भने–‘हाम्रो उद्देश्य विमानस्थल पुनः सञ्चालन होस् भन्ने हो ।’
उनले विमान कम्पनीले पनि फाइदा खोज्ने भएकाले यात्रुको चाप अनुसार विमानस्थल पुनः सञ्चालन हुने वा नहुने कुरा निक्र्यौल हुने बताए ।
टोलीका सदस्य श्रीप्रसाद देवकोटाले टीकापुरका साथै चौरजहारी, पालुङटार, बलेवा, लाङटाङ, जिरी र रुम्जाटार विमानस्थलको सम्भाव्यता अध्ययन गरिने बताए । उनले एक महिना भित्र प्राधिकरणमा प्रतिवेदन बुझाउने जानकारी दिए । देशभर २० वटा विमानस्थल बन्द अवस्थामा छन । सुदूरपश्चिमको हकमा कञ्चनपुरको महेन्द्रनगरस्थि विमानस्थल पुनः सञ्चालनका लागि मर्मतको काम भैरहेको छ । दार्चुलाको गोकुलेश्वर र अछामको कमलबजारस्थित विमानस्थल बन्द छन ।
अछामको साँफेबगर, बाजुराको कोल्टी, बैतडीको पाटन, बझाङको देवल, डोटीको दीपायलस्थित विमानस्थल कालोपत्रे भैसकेका छन । ती मध्ये कतिपयमा हवाई सेवा नियमित हुन सकेको छैन ।
कञ्चनपुरको महेन्द्रनगरस्थित विमानस्थल तीन पक्षको साझेदारीमा पुनः सञ्चालनको तयारी भैरहेको छ । विमानस्थल पुनः सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय सरकारले सहकार्य गर्ने भएका छन । यही मोडलमा टीकापुर विमानस्थललाई समेत पुनः सञ्चालन गर्न सकिने प्राधिकरणका निर्देशक पाण्डेले बताए । उनले त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।
लामो समयदेखी विमानस्थल पुनः सञ्चालनमा आउने प्रतिक्षामा रहेका टीकापुरबासी भने अझै ढुक्क हुन सकेका छैनन् । उनीहरु विमानस्थल पुनः सञ्चालनका नाममा राजनीति गर्ने काम भैरहेको आरोप लगाउँछन ।