टीकापुर, जेठ ११
टीकापुर क्षेत्रमा लागुऔषध सेवनको अवस्था निकै जटिल बन्दै गएको छ । खुला सिमा नाकाका कारण भारतीय बजारबाट लागुऔषध सहजै ओसारपोसार भैरहेकाले दुव्र्यसनमा फस्ने युवाको संख्या अत्याधिक बढेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले गत एक महिनाको अवधिमा मात्रै लागुऔषध सेवन र ओसारपोसारमा संलग्न रहेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । विभिन्न आठ वटा घटनामा ती व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले नाइट्राभेट टेन २७९ ट्याब्लेट, एसपिएएस १७३ क्याप्सुल र ४२ दशमलव ८५० मिलिग्राम चरेश बरामद भएको जानकारी दिएको छ ।
कार्यालय प्रमुखका रुपमा आएका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले लागुऔषध दुव्र्यसन नियन्त्रणलाई प्राथमिकतामा राखेर काम थालेका छन । उनी चैत २४ गते कार्यालय प्रमुखका रुपमा आएका हुन ।
उनले लागुऔषध दुव्र्यसनमा संलग्न युवाहरुको संख्या निकै धेरै रहेकोले नियन्त्रणका लागि ठोस कदम चाल्न आवश्यक रहेको बताए । उनले प्रहरीले मात्रै लागुऔषध नियन्त्रण हुन नसक्ने बताउँदै अभिभावकलाई समेत सहयोगी भूमिका खेल्न आग्रह गरे ।
उनले लागुऔषध सेवनका कारण समाजमा अपराधिक क्रियाकलाप बढ्दै गैरहेकोले रोकथामका लागि हातेमालो गर्न सबैसँग आग्रह गरेका छन ।
प्रहरीले एक महिनाको अवधिमा चोरीका घटनामा संलग्न रहेको आरोपमा ५ जना, जबरजस्ती करणीमा २ जना, सार्वजनिक अपराधमा १ जना, फुटकर ज्यानमा २ जनालाई पक्राउ गरेको छ । त्यस्तै झुण्डिएर आत्महत्याका घटनामा ८ जना र विषसेवनमा १ जनालाई मुद्दा चलाएको छ ।
प्रहरीले चालु आवको हालसम्म ३३ वटा घटनामा ५५ जनालाई लागुऔषध सेवन र ओसारपोसारमा संलग्न रहेको अवस्थामा पक्राउ गरेको छ । ती मध्ये सबैलाई प्रहरीले मुद्दा दायर गरेको छ ।
त्यस्तै सार्वजनिक हित विरुद्ध ९० जना, सवारी ज्यानमा ६ जना, बहुविवाहमा ४ जना, ज्यान मार्ने उद्योगमा ५ जना, जबरजस्ती करणीमा १४ जना र जबरजस्ती करणी उद्योगमा २ जनालाई पक्राउ गरेको छ । सवारी ज्यानमा पक्राउ परेका मध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ज्यान सम्बन्धी कसुरमा २१ जना, चोरीका घटनामा २६ जना र ठगीमा संलग्न १ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । चोरीका घटनामा पक्राउ परेका मध्ये १ जनाको हिरासतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।