टीकापुर, जेठ १०
टीकापुर एयरपोर्टलाई तत्कालका लागि सञ्चालनमा ल्याउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
टीकापुर एयरपोर्टको सम्भाव्यता अध्ययन गर्न टीकापुर पुगेको नागरिक उड्डयन प्राधिकरणको तेश्रो पक्षीय टोलीसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाह सहितको टोलीले टीकापुर नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायत सरोकारवाला निकायसँग छलफल गरेको हो ।
आयोगका सदस्य शाहले टीकापुर एयरपोर्ट यथास्थानमा तत्काल सञ्चालन गर्न सकिन्छ, सकिँदैन ? कसरी सकिन्छ ? कस्तो फ्लाइटहरु चलाउन सकिन्छ ? जस्ता विषयमाथि सहभागीहरुलाई धारणा राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले पटक पटक सर्भे गर्ने तर सञ्चालनमा आलटाल गर्ने कुरा दुःखदल् भएको बताए । उनले एयरपोर्ट सञ्चालनका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।
टीकापुर नगरपालिकाका उपमेयर खडकबहादुर शाहले पञ्चायतकालमा सञ्चालन भएको एयरपोर्ट हाल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए । उनले भने ‘राज्यले पर्याप्त लगानी गरेर बजार भन्दा केहीपर प्राविधिक टोलीले अध्ययन गरेको उपयुक्त ठाउँमा एयरपोर्ट बनाएरै सञ्चालन गर्नुपर्छ ।’ उनले टीकापुरप्रति राज्यको दृष्टि र व्यवहार नै फरक रहेको औंल्याउँदै राज्यले उदारताका साथ लगानी गर्नुपर्ने बताए ।
हाल सञ्चालन रहेको ठाउँ बजारको नजिकै भएको, बस्ती बाक्लो भएको र ठूला जहाज सञ्चालन गर्न क्षेत्रफल नपुग्ने भएकाले राज्यको लगानी उपयुक्त स्थानमा हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस टीकापुरका नगर सभापति नरेशकुमार खत्रीले तत्काल यही एयरपोर्ट सञ्चालन गर्ने र दीर्घकालका लागि अन्यत्र उपयुक्त स्थानमा सार्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रतिनिधि तेज बोहराले टीकापुर क्षेत्रको पयर्टन विकासका लागि समेत एयरपोर्ट सञ्चालन हुनुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रंग अधिकारीले नागरिक उड्डयनले प्लेन नचलाए एयरपोर्टको जग्गा नगरपालिकाको मातहतमा हुनुपर्ने बताए । उनले पर्यटन प्रबद्र्धन र टीकापुर क्षेत्रका उपभोक्ताको क्रयशक्तिले हवाईजहाज चल्न सक्ने बताउँदै यसका लागि सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि रमेश विश्वकर्माले एयरपोर्टलाई उपयुक्त स्थानमा सार्नुपर्ने बताए ।
टीकापुर नगरपालिका वडा नं. ६ का अध्यक्ष बलिराम चौधरीले अध्ययनका लागि आउने प्रत्येक टोलीले फरक फरक कुरा गर्ने गरेको आरोप लगाए । मुआब्जा दिएर भए पनि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै चौधरीले भने ‘राज्यले लगानी गर्न चाहेको देखिँदैन, यदि सञ्चालन गर्ने हो भने राज्यको लगानी पनि आउनु पर्छ ।’
कार्यक्रममा दुर्गा भण्डारी, परमानन्द पाण्डे लगायतले बोलेका थिए । यसअघि एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले प्राविधिकसहितको टोली पठाएको थियो ।
टोलीले हालको एयरपोर्टसहित वडा नं. ५ मा रहेको खेलकुद मैदान र टीकापुर नर्सरीको जमिनको समेत अध्ययन गरेको थियो ।