टीकापुर, जेठ १०
टीकापुर उद्योग वाणिज्य संघले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ । संघले आज एक कार्यक्रमको आयोजना गरी टीकापुर नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षहरुलाई बधाई तथा शुभकामना दिएको हो ।
बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका नवनिर्वाचित मेयर रामलाल डगौरा थारुले विभिन्न संघसंस्थाहरुसँगको सहकार्यका माध्यमबाट टीकापुरका चुनौतीको सामना गर्ने नीति अवलम्बन गरिने बताए ।
उनले टीकापुरको ब्यापार व्यवशाय प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु अघि सार्ने प्रतिवद्धता व्यक्त गरे । उनले आसपासका बस्तीलाई टीकापुरसँग जोड्ने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
उनले राम्रो टीकापुर बनाउने अभियानमा साथ दिन उचित सल्लाह सुझावको अपेक्षा गरेको बताएका छन ।
सोही अवसरमा उपमेयर खडकबहादुर शाहले टीकापुरको सामाजिक अन्तरविरोधलाई हल गरेर बाह्य लगानी भित्र्याउने तर्फ पहल गर्ने बताए । उनले व्यवशायी र नगरपालिकाबीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाएर सुन्दर, शान्त र समृद्ध टीकापुर बनाउने कुरामा अर्जुनदृष्टी लगाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले टीकापुरको विकासका लागि विकेन्द्रित नभई सबै केन्द्रिकृत हुनुपर्नेमा जोड दिए ।
संघका पूर्वअध्यक्ष नरेशकुमार खत्रीले उद्योगी व्यवशायी टीकापुरबाट विस्थापित हुने क्रमलाई रोक्ने जिम्मेवारी नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएको बताए ।
संघका अध्यक्ष रामबहादुर भण्डारीले टीकापुरको विकासका लागि ब्यापारी व्यवशायी जनप्रतिनिधिहरुलाई साथ दिन तयार रहेको बताउँदै नेतृत्व लिन आग्रह गरे । कार्यक्रममा संघका कार्य समिति लगायत विभिन्न व्यापारी व्यवशायीको समेत उपस्थिति रहेको थियो । ।