टीकापुर, जेठ ९
टीकापुर नगरपालिकाका नवनिर्वाचित मेयर रामलाल डगौरा थारुले कार्यभार सम्हालेका छन । उनले मुख्य निर्वाचन अधिकृत समक्ष पद तथा गोपनियताको सपथ लिएपछि आजै कार्यभार सम्हालेका हुन ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट सम्बोधन हुने गरी तीन वटा प्रस्ताव निर्णयार्थ पेश गरेका छन । जसमा सिटी अफ ग्रिन गार्डेन, शिक्षा क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य र गुणस्तरिय रुपमा विकास गर्न विशेष कार्यक्रम र यातायात सञ्चालन तथा आवागमनलाई प्रभावकारी बनाउन चक्रपथ निर्माण रहेका छन ।
उनले एक समारोहकाबीच उपमेयर, नौवटै वडाध्यक्ष र वडा सदस्यहरुलाई समेत सपथ गराएका छन । उपमेयर लगायतको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर थारुले टीकापुरको विकासका लागि हातमोलो गर्न आग्रह गरे ।
उनले पक्ष विपक्षको कुरा बैशाख ३० गतेको निर्वाचनसम्म मात्रै सिमित रहेको बताउँदै अब सबैले एकजुट भएर टीकापुरको विकासमा समर्पित हुनुपर्ने बताए । उनले टीकापुरको विकासका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताए ।
उनले स्थानीय तहको निर्वाचन परिणाम पश्चात सबैको ध्यान टीकापुर तर्फ केन्द्रित भैरहेको बताउँदै टीकापुरमा फाटेका मनहरुलाई जोड्न आफू सबैको साझा अभिभावक बनेर देखाउने बताए ।
उनले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउँदै सबैको उद्देश्य टीकापुरको समग्र विकास तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले एकदिन मरेर जाने जिन्दगीमा इतिहास रच्ने जिम्मेवारी आएको बताउँदै सोही अनुसार आफ्नो काम कर्तव्य पूरा गर्नुपर्ने बताए ।
सो अवसरमा उपमेयर खडकबहादुर शाहले समेत टीकापुरको विकासलाई नै केन्द्रमा राखेर अघि बढ्ने बताए । उनले सबैले सुन्दर टीकापुरको सपनालाई साकार पार्ने तर्फ केन्द्रित हुनुपर्ने बताए ।
उनले सेवाग्राहीले कुनैपनि बहानामा सास्ती खेप्नु नपर्ने गरी काम कारवाही प्रभावकारी बनाउने तर्फ आफ्नो केन्द्रित हुने बताए ।
सो अवसरमा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तथा निर्वाचन अधिकृत पुष्कर खड्काले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना व्यक्त गर्दै टीकापुरको भविष्यसँग नाता जोडिएकोले सुन्दर टीकापुर बनाउने जिम्मेवारी काँधमा आएको बताए । कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल शाहले जनप्रतिनिधिले डोर्याए अनुसार अघि बढ्न कर्मचारीतन्त्र तयार रहेको बताए ।
टीकापुर नगरपालिकाका नौवटै वडाध्यक्षहरुले बधवार कार्यभार सम्हाल्ने बताएका छन ।