टीकापुर, जेठ ५
कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । उसले अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा समेत जित हात पारेको छ ।
गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका छन । उनले ४ हजार ९०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उनका निकटतम प्रतिद्घन्दी नेपाली काँग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत पाएका छन ।
त्यस्तै उपाध्यक्षमा नागरिक उन्मुक्तिकै रेखादेवी कठरिया विजयी भएकी छन । उनले ४ हजार ५८१ मत पाएकी छन । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीको ३ हजार ३६८ मत छ ।
नागरिक उन्मुक्तिले वडा नं. १, ३, ४ र ५ मा वडाध्यक्ष सहित पूरै प्यानल जितेको छ । वडा नं. १ को वडाध्यक्षमा रामचन्द्र चौधरी, वडा नं. ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा, वडा नं. ४ को वडाध्यक्षमा राम जनम चौधरी र वडा नं. ५ को वडाध्यक्षमा अनरकुमार चौधरी विजयी भएका छन ।
त्यस्तै वडा नं. २ मा भने जसपाका विष्णुप्रसाद डगौरा, वडा नं. ६ मा माओवादी केन्द्रका भोजराज डगौरा र वडा नं. ७ मा नेकपा एमालेका बमबहादुर शाह विजयी भएका छन ।
जोशीपुर नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति तथा पूर्व राज्यमन्त्री जनक चौधरीको पालिका हो । यहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष सहित अधिकांश वडामा जितेको थियो ।
नागरिक उन्मुक्तिले कैलालीका जोशीपुर गाउँपालिका लगायत टीकापुर र भजनी नगरपालिकाका साथै जानकी गाउँपालिका समेत जित्ने निश्चित छ । सबै पालिकामा दोब्बर मतको हाराहारीमा अग्रता लिईरहेका छन ।