टीकापुर, जेठ ४
कैलालीको जोशीपुर गाउँपालिकामा करिव छ सय मत गणना हुन बाँकी रहदै नागरिक उन्मुक्ति पार्टीको जित निश्चित भएको छ । प्रतिस्पर्धी भन्दा धेरै मतान्तर भएपछि जित निश्चित भएको हो ।
पछिल्लो मत परिणाम अनुसार नागरिक उन्मुक्तिका तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका चित्रबहादुर चौधरीको ४ हजार ७७६ मत छ भने प्रतिस्पर्धी नेपाली काँग्रेसका बन्सराम बडायकको ३ हजार २६५ मत मात्रै रहेको छ । राप्रपाका भीमबहादुर बमको ३ हजार ७० मत छ ।
उपाध्यक्षमा नागरिक उन्मुक्तिकै रेखादेवी कठरियाको ४ हजार ५०० मत रहेको छ । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीको ३ हजार ७२२ मत छ ।
नागरिक उन्मुक्तिले वडा नं. १, ३, ४ र ५ मा वडाध्यक्ष सहित पूरै प्यानल जितेको छ । वडा नं. १ को वडाध्यक्षमा रामचन्द्र चौधरी, वडा नं. ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा, वडा नं. ४ को वडाध्यक्षमा राम जनम चौधरी र वडा नं. ५ को वडाध्यक्षमा अनरकुमार चौधरी विजयी भएका छन । त्यस्तै वडा नं. २ मा भने जसपाका विष्णुप्रसाद डगौरा र वडा नं. ६ मा माओवादी केन्द्रका भोजराज डगौरा विजयी भएका छन ।
जोशीपुर नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति तथा पूर्व राज्यमन्त्री जनक चौधरीको पालिका हो । यहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष सहित अधिकांश वडामा जितेको थियो ।