योगेश रावल
टीकापुर, बैशाख १९
टीकापुर पोलिटेक्निक इन्स्टिच्यूट हाताभित्र लटरम्म तरकारी फलेको छ । त्यहाँ ६ विगाहमा छुट्टाछुट्टै ६ वटा करेसाबारी छन । यतिबेला ती करेसाबारीमा बन्दागोभी, करेला, बोडी, टमाटर, खुर्सानी, काँक्रा, भिन्डी लगायतका तरकारी फलेको देख्न सकिन्छ ।
यो तरकारी कुनै कृषकले फलाएका भने हैनन् । तरकारी त्यहाँ अध्ययनरत विद्यार्थीहरुले फलाएका हुन । विद्यार्थीको अधिकांश समय तिनै करेसाबारीमा बित्छ । उनीहरु कक्षा कोठा भन्दा बढी समय करेसाबारीमै बिताउँछन ।
उनीहरुले कक्षा कोठामा पढेको पाठ्यक्रम भन्दा बढी पूर्णाङ्क करेसाबारीको पाठ्यक्रमबाट प्राप्त गर्छन । ‘४० पूर्णाङ्क पढेको र ६० पूर्णाङ्क प्रयोगात्मकका आधारमा परीक्षा हुन्छ’ प्रमुख टेकेन्द्र थापाले भने–‘पढेको भन्दा प्रयोगात्मकमा विद्यार्थीले धेरै सिक्ने गरेका छन ।’
संस्थामा २०७३ साउनदेखी आईएस्सी एजी विषयको पढाई भैरहेको छ । ७९ जनाको पहिलो ब्याच अन्तिम वर्षको परिक्षाको तयारीमा छ । उनीहरु आउने भदौमा अन्तिम वर्षको परिक्षा दिने छन । यो परिक्षा उत्तीर्ण गरेपछि उनीहरु बिएस्सी एजीमा अध्ययन वा जागिरका लागि योग्य हुनेछन । त्यसपछिका १६० जना अध्ययन गरिरहेका छन । उनीहरु मध्ये प्रथम र दोस्रो वर्षमा ४०÷४० जना छन । त्यस्तै छात्रवृत्तीतर्फका ४०÷४० जनाको दुई समूह समेत पढिरहेको छ ।
विद्यार्थीसँग दुई किसिमका पोशाक छन । उनीहरु कक्षा कोठामा पढ्दा सर्ट, पाइन्ट र टाईमा भेटिन्छन । करेसाबारीमा काम गर्दा भने ट्राकसुट लगाउँछन । कोही ट्याक्टर, पावरटिलर जोत्छन भने कोही कोदालोले गरा सम्याउँछन । कोही तरकारीका बेर्ना रोप्छन भने कोही गोडमेल गर्छन । उनीहरुका कक्षा अनुसार छुट्टाछुट्टै प्लट छुट्याईएका छन । ती प्लटमा ५÷५ जना विद्यार्थीको समूहले छुट्टाछुट्टै तरकारी खेती गर्छन । सबैभन्दा राम्रो फलाउनेले धेरै अंक पाउँछन । विद्यार्थीहरुबीच कसले राम्रो तरकारी फलाउने प्रतिस्पर्धा हुन्छ । यति मात्रै हैन उनीहरु एकले अर्कोलाई नजानेको कुरा पनि सिकाउँछन ।
तरकारी रोपे देखी नफलेसम्म विद्यार्थीले नै रेखदेख गर्छन । तरकारीमा कुनै रोगब्याधी लाग्यो भने उनीहरु आफैले औषधोपचार गर्छन । कुनै जटिल रोग लागेर विद्यार्थीले उपचार गर्न नसके मात्रै शिक्षकले सघाउँछन । ‘हामीले पनि सकेनौं भने विज्ञहरुलाई बोलाउँछौं’ प्रमुख थापाले भने–‘विज्ञले फिल्डमै पुगेर विद्यार्थीलाई सिकाउने व्यवस्था गरिएको छ ।’
विद्यार्थीले प्रयोगात्मक अध्ययनका लागि किसानको बारीमा जान नपरोस भनेर संस्थाले यस्तो व्यवस्था गरिदिएको हो । उनीहरु संस्थाको हाताभित्र फलाउन नसक्ने बालीको अध्ययनका लागि मात्रै अन्यत्र जाने गरेका छन । उनीहरु केही दिन अघि चिया खेतीको अध्ययनका लागि पूर्वी नेपाल पुगेका थिए । प्रमुख थापाले भने–‘हामीसँग नभएको बालीका बारेमा पढ्न मात्रै अन्त जाने हो ।’
विद्यार्थीलाई करेसाबारीमा फलेको तरकारी परिक्षा उत्तीर्ण गर्ने आधार मात्रै हैन आम्दानीको स्रोत समेत बनेको छ । उनीहरु करेसाबारीमा फलाएको सबै तरकारीको आफै मालिक हुन । करेसाबारीमा फलेको तरकारी विद्यार्थी आफैले बेच्छन । तरकारी बेचेर आम्दानी भएको रकम विद्यार्थीले नै राख्छन । त्यो रकम विद्यार्थीले पढाई शुल्क तिर्नमा काम लगाउँछन । केही बचेको रकम पकेट खर्चका रुपमा समेत खर्च गर्छन । ‘पढाईसँगै आम्दानी समेत भैरहेको छ’ विद्यार्थी रेशम नेपालीले भने –‘सानोतिनो खर्चका लागि अभिभावकको मुख ताक्नु पर्दैन ।’
विद्यार्थीले एक सिजनमा झण्डै डेढ लाखसम्मको तरकारी बेच्छन । विद्यार्थीले तरकारीमा कुनै विषादी प्रयोग गर्दैनन् । उनीहरुले उत्पादन गरेको तरकारी अर्गानिक छ । उनीहरु आफैले फोहोरबाट तयार पारेको जैविक मल प्रयोग गर्छन । स्थानीय होटल व्यवशायी तरकारी किन्न संस्थामै पुग्ने गरेका छन । त्यहाँ आफ्नो उपभोगका लागि केही स्थानीय समेत पुग्ने गरेका छन । स्थानीय तरकारी किन्न संस्थामै पुग्न थालेपछि विद्यार्थी उत्साहित भएका छन ।
यो प्राविधिक शिक्षा तथा व्यावशायिक तालिम परिषदद्वारा सञ्चालित संस्था हो । यसलाई सुदूरपश्चिम प्रदेशको नमूना प्राविधिक शिक्षालय बनाउने सरकारको योजना छ । सरकारले नमूना प्राविधिक शिक्षालय बनाउने योजना बनाएतापनि प्रयाप्त बजेटको अभावमा थुप्रै समस्या व्यहोर्दै आएको छ ।
संस्था स्थापनाका लागि तत्कालिन टीकापुर विकास समितिले २५ विगाह जमिन निशुल्क उपलब्ध गराएको थियो । हाल सो जमिनमा केही भौतिक पूर्वाधार निर्माण भएका छन । संस्थाले आईएस्सी एजीका साथै २०७५ बाट भेटेनरी र डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाई समेत सुरु गरेको छ । प्रमुख थापाका अनुसार संस्था मार्फत विभिन्न सिपमूलक तालिम समेत सञ्चालन भैरहेका छन । ती सिपमूलक तालिमबाट धेरै व्यक्तिहरुले रोजगारी प्राप्त गरेका छन ।