टीकापुर, जेठ २
नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा आफ्नो सुरुवाती अग्रतालाई कायम राखेको छ । मेयर पदका उम्मेदवार रामलाल डगौरा थारुले सुरु देखी नै झण्डै दोब्बर मतले अग्रता लिईरहेका छन ।
पछिल्लो मत परिणाम अनुसार उनी ६ हजार १४० मतका साथ अग्रस्थानमा छन । उनलाई नेपाली काँग्रेसका नवराज रावलले पछ्याईरहेका छन । रावलको ३ हजार ९२६ मत रहेको छ । त्यस्तै नेकपा एमालेका श्याम खत्री २ हजार ९०८ मतका साथ तेस्रो स्थानमा छन ।
उपमेयरमा समेत नागरिक उन्मुक्तिकै उल्कादेवी विश्वकर्माले अग्रता लिएकी छन । उनलाई नेकपा माओवादी केन्द्रका खडक शाहले ७४ मतको अन्तरले पछ्याईरहेका छन । यसअघि केही समय शाहले अग्रता लिएका थिए । उपमेयरमा नेकपा एमालेकी उपमा केसीको २ हजार ३३१ मत छ ।
अहिले सबैभन्दा बढी मत रहेको वडा नं. १ को मत गणना भैरहेको छ । यहाँ ११ हजार भन्दा बढी मत खसेको छ । अहिलेसम्म ४ हजार २२ मत मात्रै गणना भएको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिएकी छन । उनका अनुसार वडा नं. २ र ६ को मत गणना हुन बाँकी नै छ ।
अन्य छ वटा वडाको भने नतिजा आईसकेको छ । जसमध्ये वडाध्यक्षमा ३ वडामा माओवादी केन्द्र, २ वडामा नागरिक उन्मुक्ति र १ वडामा काँग्रेसले जितेको छ । माओवादी केन्द्रका तर्फबाट वडा नं. ७ मा यज्ञ न्यौपाने, वडा नं. ८ मा दीर्घ ठकुल्ला र वडा नं. ९ लौटन चौधरी विजयी भएका छन । ठकुल्ला र चौधरी यसअघि समेत वडाध्यक्ष रहेका थिए ।
त्यस्तै नागरिक उन्मुक्तिका तर्फबाट वडा नं. ४ मा लालबिर चौधरी र वडा नं. ५ मा बलबिर थारु वडाध्यक्षमा विजयी भएका छन । चौधरी समेत यसअघि वडाध्यक्ष रहेका थिए । काँग्रेसले वडा नं. ३ को वडाध्यक्ष जितेको छ । काँग्रेसका ऋषी विश्वकर्माले वडाध्यक्ष जितेका हुन ।