टीकापुर, जेठ २
नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकाका दुईवटा वडामा प्यानल सहित जितेको छ । सो पार्टीले वडा नं. ४ र ५ मा प्यानल सहित जित हात पारेको हो ।
वडा नं. ४ मा यसअघिका वडाध्यक्ष लालबिर चौधरी नै दोहोरिएका छन । उनी २०७४ को निर्वाचनमा लोकतान्त्रिक फोरमबाट विजयी भएका थिए ।
उनले १ हजार २३० मत ल्याएका छन । त्यस्तै वडा सदस्यमा प्रेमलाल चौधरी १ हजार ११७ र दिपेन्द्र चौधरी १ हजार ७२ मत प्राप्त गरेर विजयी भएका छन । खुल्ला महिला सदस्यमा रुपमति डगौरा थारुले १ हजार १५३ र दलित महिला सदस्य तुलसादेवी विकले १ हजार २१० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यसैगरी वडा नं. ५ को अध्यक्षमा ८२० मत प्राप्त गरेर बलविर थारु विजयी भएका छन । सो वडामा खुला सदस्यमा कन्हैया चौधरीले ८२३ र बलराम चौधरीले ८५९ मत पाएका छन । त्यस्तै खुल्ला महिला सदस्यमा बासमति कुमारी चौधरीले ८६२ र दलित महिला सदस्यमा सीता भुलले ८९६ मत पाएर विजयी भएका छन ।
अहिलेसम्म टीकापुर नगरपालिकाको वडा नं. ३ र ९ मा समेत मत गणना सम्पन्न भएको छ । वडा नं. ९ मा नेकपा माओवादी केन्द्रका लौटन चौधरी पुनः वडाध्यक्षमा दोहोरिएका छन । उनी यसअघि समेत सोही पार्टीबाट वडाध्यक्ष थिए ।
उनले ७१६ मत प्राप्त गरेका छन । त्यस्तै सोही वडाको खुल्ला सदस्यमा भरत साउँदले ६५० र किरण बहादुर चौधरीले ६२२ मत प्राप्त गरेर जितेका छन । खुल्ला महिला सदस्यमा लाली डगौरा थारु र दलित महिला सदस्यमा दिलु कामी विजयी भएका छन । थारुले ६९१ र कामीले ६८६ मत पाएका छन ।
यस्तै वडा नं. ३ को वडाध्यक्षमा काँग्रेसका ऋषी विश्वकर्मा विजयी भएका छन । उनी ६३३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
उनीसँगै दुई खुल्ला सदस्य समेत काँग्रेसले नै जितेको छ । विजयी हुने दुई खुल्ला सदस्य मध्ये जयराम थारुले ४९४ र तेजराम चौधरीले ४८७ मत पाएका छन ।
दलित महिला र खुल्ला महिला समस्यामा भने नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । दलित महिला सदस्यमा विजयी हुने कमलादेवी विकले ५३७ र खुल्ला महिला सदस्य लवरी चौधरीले ५३४ मत प्राप्त गरेका छन ।
टीकापुर नगरपालिकाका थप पाँच वडामा मत गणना बाँकी छ । अहिले वडा नं. ८ को गणना भैरहेको छ । सबैभन्दा धेरै मतदाता रहेको वडा नं. १ मा ११ हजार बढी मत खसेको छ ।