Hamro Patra
टीकापुरमा नागरिक उन्मुक्तिको अग्रता
Khadga Memorial And Janajagriti

टीकापुर, बैशाख ३१
टीकापुर नगरपालिकामा गठबन्धन लगायतलाई पछि पार्दै हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । अहिले सम्मको मत गणना अनुसार सो पार्टीका सबै उम्मेदवारले अग्रता लिएका छन ।
टीकापुर नगरपालिका वडा नं. ५ बाट मत गणना सुरु गरिएको छ । अहिलेसम्म चार सय मत गणना भएको छ । प्राप्त मत परिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डगौरा थारुले १३७ र उपमेयर पदका उम्मेदवार उल्का देवी विकले १२४ मत प्राप्त गरेका छन ।
त्यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेका मेयर पदका उम्मेदवार श्याम खत्रीले ६८ मत र उपमेयर उपमा केसीले ४१ मत प्राप्त गरेका छन । तेस्रो स्थानमा रहेको गठबन्धनका तर्फबाट काँग्रेसका मेयर पदका उम्मेदवार नवराज रावलले ५५ मत र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले ५३ मत प्राप्त गरेका छन ।
हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले थारु र दलित समुदायको मुद्दा अघि सारेर राजनीति गरिरहेको छ । उसले मेयरमा थारु र उपमेयरमा दलित समुदायबाट उम्मेदवार अघि सारेको छ ।
यस पार्टीको केन्द्रिय अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन । उनी २०७२ मा भएको टीकापुर घटनाका दोषी निलम्वित साँसद रेशमलाल चौधरीकी श्रीमती हुन । चौधरीको नेतृत्वमा रहेको सो पार्टीले कैलाली र बर्दियाका केही पालिकामा चुनावी प्रतिस्पर्धा गरेको छ । पार्टीले केही पालिकाको नेतृत्वमा जीत हातपार्ने दावी गर्दै आएको छ ।
यस्तै टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिकामा मत गणना कार्य सुरु भएको छ । त्यहाँकुल ३२ हजार ६ सय ३५ मतदाता रहेकामा २८ हजार ६९७ मतदाताले मतदान गरेका छन । यस पालिकामा समेत नागरिक उन्मुक्ति पार्टीले जित्ने दावी गरेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update