Hamro Patra
क्रमसंख्या नमिल्दा मतदाता अलमलमा

टीकापुर, बैशाख ३०

मतदान स्थलमा मतदाता क्रमसंख्या नमिल्दा मतदाताहरु अलमलमा परेका छन् ।

स्थानीय निर्वाचनमा निर्वाचन कार्यालयले उम्मेदवारहरुलाई प्रदान गरेको मतदाता सूचीमा रहेको क्रमसंख्या र मतदान स्थलमा रहेको क्रमसंख्या नमिल्दा मतदाता अलमलमा परेका हुन् ।

Khadga Memorial And Janajagriti

दलहरुलाई कार्यालयले वितरण गरेको सूचिमा रहेको मतदाता क्रमसंख्या अनुसार भोट हाल्न जाँदा अन्तिममा आएर लाइनबाटै फिर्ता पठाइएको मतदाताहरुले गुनासो गरेका छन् ।

टीकापुर नगरपालिका वडा नं. १ एकतापुरकी विर्मा सुनारले क्रमसंख्या अनुसार लाइन लागेकोमा अन्तिममा आफ्नो नाम नै फेला नपरेकाले अर्को लाइनमा लाग्नु परेको बताइन् । ‘एक घण्टा बढी त्यही लाइनमा लागेकी थिएँ, नाम मिलेन भन्दै अर्को लाइनमा पठाए, अब फेरि लाइन लागेकी छु’ वीरेन्द्र विद्यामन्दिर निर्वाचन केन्द्रमा भेटिएकी उनले भनिन् ‘मतदाताले त्यसै दुःख पाइरहेका छन् ।’

वर्णानुक्रम अनुसार मतदान गर्ने प्रक्रिया नमिल्दा समेत मतदाताले दुःख पाइरहेका छन् । शिक्षक टंक देवकोटाले मतदाता परिचय पत्र लिएर गएका मतदाताहरुलाई समेत नाम फेला नपरेको भन्दै फिर्ता पठाएको बताए । उनले भने ‘वर्णानुक्रम अनुसार मिलेको समेत नाम मिलेको छैन । समय पनि धेरै लागेको छ ।’

यता, निर्वाचन अधिकृत पुष्कर खड्काले समेत क्रमसंख्याका कारण केही स्थानमा मतदान कार्य झन्झटिलो भएको स्वीकारे । उनले भने ‘हामीले पनि त्यो महशुस गरेका छौं, केही ठाउँमा समस्या भएका छ, त्यसलाई सहज बनाउन हामी प्रयासरत छौं ।’

टीकापुर नगरपालिकामा १६ वटा मतदान केन्द्रमा ५७ मतदान स्थल रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update