टीकापुर, बैशाख २६
जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तह निर्वाचनको दिन बैशाख ३० गते जिल्लाभर यातायातका साधन बन्द हुने जनाएको छ ।
कार्यालयले एक सार्वजनिक सूचना जारी गरी बैशाख २९ गते राति १२ बजेपछि मतदान कार्य सम्पन्न नभएसम्म यातायातका साधन बन्द रहने जानकारी दिएको छ ।
सो सूचनामा एम्बुलेन्स, दमकल, दुरसञ्चार सेवा, अस्पताल सेवा, विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधन र अनुमति लिएका सवारी साधन भने सुचारु रहने उल्लेख छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीले एक अर्को सूचना जारी गरी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सीमा नाका बन्द हुने जानकारी दिएको छ । सूचना अनुसार बैशाख २७ गते मंगलवार राति १२ बजे देखी बैशाख ३० गते शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द रहनेछ ।
निर्वाचनलाई पारदर्शी, स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका सबै सीमा नाकाहरु बन्द रहने सूचनामा उल्लेख छ ।
बिरामी बोकेको एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर, औषधी बोकेको साधन, मलामी, जन्तीलाई भने सीमा नाकामा आवतजावत गर्न पाईने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिएका छन ।