टीकापुर, बैशाख २४
टीकापुर जेसीजद्वारा आयोजित ककस कार्यक्रम आज सम्पन्न भएको छ । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरुको उपस्थितिमा ककस कार्यक्रम सम्पन्न भएको हो ।
ककस कार्यक्रममा बोल्दै मेयर र उपमेयरका उम्मेदवारहरुले टीकापुरको सम्वृद्धिको मुद्दालाई प्राथमिकता दिएका छन । उनीहरुले सम्भावना भएर पनि टीकापुरमा जनताले अपेक्षा गरे अनुसारको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे । सबै उम्मेदवारहरुले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
उनीहरुले भूमिहिन सुकुम्बासीको समस्यालाई समेत प्राथमिकतामा राखेका छन । सामाजिक सद्भाव, औद्योगिक क्षेत्रको विकास, ब्यापार व्यवशायमा सुधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि लगायतका विषयलाई समेत उम्मेदवारहरुले अघि सारेका छन ।
कार्यक्रममा मेयरका उम्मेदवारहरु गठबन्धनका तर्फबाट नवराज रावल, एमालेका श्याम खत्री, नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु, मौलिक जरोकिलोका राजुकुमार बिष्ट र स्वतन्त्र उम्मेदवारद्वय ललित थापा र लोकबहादुर बुढाक्षेत्रीले आफ्ना कुरा राखेका थिए ।
त्यस्तै उपमेयरका उम्मेदवारहरुमा गठबन्धनका तर्फबाट खडक शाह, एमालेका उपमा केसी, नागरिक उन्मुक्तिका उल्कादेवी विक, राप्रपाका सरस्वती बोहरा, मौलिक जरोकिलोकी हिरादेवी थारु र स्वतन्त्र मायादेवी जैशीले आफ्ना धारणा राखेका छन ।
मेयरका उम्मेदवारहरुलाई उपस्थित नागरिकले प्रश्न सोधेका थिए । नागरिकहरुले मेयरका उम्मेदवारलाई टीकापुरको आगामी कार्ययोजना लगायतका बारेमा प्रश्न सोधेका थिए ।
मेयर र उपमेयरका उम्मेदवारहरुले जित हार जेसुकै भएपनि टीकापुरको विकासका लागि निरन्तर लागिपर्ने प्रतिवद्धता गरेका छन । उनीहरुले लिखित रुपमै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।
ककस कार्यक्रमका प्रमुख अतिथि टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्रा.डा. जगतबहादुर सिँह रावलले राम्रो उम्मेदवार चुन्ने बेला आएको बताए । उनले जनताले टीकापुरको समग्र विकासलाई प्राथमिकतामा राखेर मतदान गर्नुपर्ने बताए ।
कार्यक्रम टीकापुर जेसीजका अध्यक्ष टोप प्रकाश विकको अध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष रुपक बिष्टले स्वागत गरेका थिए भने सञ्चालन महासचिव मंगल साउँदले गरेका थिए ।