टीकापुर, बैशाख २१
टीकापुर नगरपालिकाको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुले आज एक कार्यक्रमकाबीच आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन । प्रतिवद्धताहरुमा कृषि, आर्थिक, सामाजिक, पूर्वाधार, वन वातावरण, खेलकुद लगायतका विषय समेटिएका छन ।
कृषि क्षेत्रको विकासका लागि दुई गाउँः एक उत्पादनमा आधारित एकीकृत सामुहिक खेती विस्तार, कृषि संकलन केन्द्रको स्थापना, कृषि एम्बुलेन्स, सहकारीका माध्यमबाट कृषिजन्य उत्पादनको बजारीकरण गरिने उल्लेख छ ।
त्यस्तै निशुल्क माटो परिक्षण, पशु बीमा, कृषि बीमा, नगदेबाली बिमा कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता गरिएको छ ।
नगर क्षेत्रका धार्मिक, साँस्कृतिक र पुरातात्विक स्थललाई स्तरोन्नती गरी पर्यटकीय गन्तव्य बनाईनुका साथै डल्फिन क्षेत्रको विकासमा जोड दिईने उल्लेख छ ।
प्रतिवद्धतामा टीकापुरमा औद्योगिक क्षेत्र स्थापना गरी व्यवशायीलाई आकर्षित गर्न पाँच वर्ष कर छुटको व्यवस्था गर्ने, केराको पकेट क्षेत्र स्थापना, कृषि अनुदानलाई वास्तविक किसानसम्म पुर्याउन एकद्वार प्रणालीको व्यवस्था, कृषि अनुसन्धान परिषदको ईकाई स्थापना गरिने छ ।
प्रतिवद्धतामा माध्यमिक तहसम्म अनिवार्य तथा निशुल्क शिक्षा, हरेक वर्ष एक÷एक जना डाक्टर र इन्जिनियर अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था, प्राविधिक शिक्षालाई मावि तहका विद्यालयसम्म विस्तार र थारुतथा अन्य स्थानीय मातृभाषामा कक्षा ३ सम्म पाठ्यक्रम निर्माण गरी लागु गरिने कुरा समेटिएको छ ।
त्यस्तै टीकापुर अस्पताललाई विशेषज्ञ सेवा सहित अत्याधुनिक सुविधा सम्पन्न, नर्सिङ शिक्षाको व्यवस्था, नारायणपुर र धनसिँहपुरलाई लक्षित गरेर नगर अस्पताल स्थापनाका साथै सबै नगरबासीलाई अनिवार्य स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरिनेछ ।
उज्यालो शहर निर्माण गर्न मुख्य चोक र सडकहरुमा सडक बत्ती र सिसि क्यामेरा जडान, हवाईमैदान सञ्चालन, सनकट्टी र दौलतपुरमा पक्की पुल, अन्य पालिकासँग जोड्ने सडक सञ्जालका साथै आन्तरिक र बाह्य चक्रपथ निर्माण गरिने बताईएको छ ।
त्यसैगरी नगर बस सञ्चालन, खुल्ला ठाउँलाई उद्यान केन्द्र, पहिलो आर्थिक वर्षलाई ग्राभेल वर्ष, अल्पसंख्यक, लोपोन्मुख सीमान्तकृत नागरिकहरुको संरक्षण, सम्बद्र्धन र विकासका लागि विशेष कार्यक्रम लागु गरिनुका साथै असहाय जेष्ठ नागरिकलाई तीर्थयात्राको व्यवस्था गरिने उल्लेख छ ।
प्रतिवद्धतामा उल्लेख छ सरसफाईकर्मी तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई अतिरिक्त सेवा सुविधाको व्यवस्था गरिनेछ, ग्रिन टीकापुरः क्लिन टीकापुर बनाउन ग्रिनरी बेल्ट निर्माण गरिनेछ, एक घरः एक रुख वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ, फोहोर व्यवस्थानका लागि आवश्यक योजना बनाई कार्यान्वयन गरिने छ ।
त्यस्तै खेलकुदका क्षेत्रमा विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि विशेष योजना ल्याइने, बहुउद्देश्यीय कभर्डहल निर्माण गरी खेल क्षेत्रको विकासका लागि स्र्पोट्स एकाडेमी स्थापना गर्ने, टीकापुर क्षेत्रमा खुल्ला स्वास्थ्य व्यामशाला र चिल्ड्रेन पार्क निर्माण गर्ने, प्रत्येक वडामा १ खेल मैदान निर्माण गर्ने र नगरमा विभिन्न खेलका प्रशिक्षक नियुक्त गर्ने उल्लेख छ ।
सत्ता गठबन्धनले यसअघि नै सामाजिक सञ्जाल मार्फत ५ वर्षमा गौरवका १० काम सार्वजनिक गरिसकेको छ । सत्ता गठबन्धनले मेयरमा काँग्रेसका नवराज रावल र उपमेयरमा माओवादी केन्द्रका खडक शाहलाई मैदानमा उतारेको छ ।