Hamro Patra
आचारसंहिता उल्लंघनग गरे उम्मेदवारी रद्द हुने

टीकापुर, बैशाख २१
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने जनाएको छ । स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लंघनका घटना बढेकाले आयोगले आचारसंहिता कार्यान्वयनलाई व्यवस्थित गर्न आवश्यक भन्दै निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि २०७९ ल्याएको छ ।

कार्यविधिको दफा ९ मा आयोगले कारवाही गर्न सक्ने व्यवस्था गरेको छ । जसमा कुनै निकाय, पदाधिकारी, राजनीतिक दल, उम्मेदवार वा व्यक्तिले आचारसंहिता उल्लंघन गरेको पाईएमा निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (३) बमोजिम त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने उल्लेख छ ।

उम्मेदवारी रद्द हुनका लागि उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने अवस्था आउन नहुने कार्यविधिमा जनाईएको छ । कार्यविधि अनुसार यस्तो अवस्था देखिएमा आयोगले सम्बन्धित उम्मेदवारलाई निश्चित अवधि तोकी सफाई पेश गर्न मौका दिनेछ ।

CMA Staff

आयोगले जारी गरेको कार्यविधिमा कसैले आचारसंहिता उल्लंघन गरेमा जुनसुकै व्यक्तिले आचारसंहिताको दफा ३९ बमोजिम उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । यसरी उजुरी दिँदा आचारसंहिता उल्लंघन सम्बन्धी फोटो, भिडियो लगायतका उपलब्ध भएसम्मका प्रमाण उपलब्ध गराउनु पर्नेछ ।

यसका अलावा आयोगले आचारसंहिता उल्लंघनका बारेमा आम सञ्चार माध्यम, सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट समेत जानकारी लिई थप प्रमाण संकलन गर्न सक्ने कार्यविधिमा उल्लेख छ । आयोगले यस बारेमा सम्बन्धित पक्षसँग स्पष्टीकरण माग गर्न सक्नेछ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका क्रममा ब्यापक मात्रामा आचारसंहिता उल्लंघनका घटना बढेकाले यस्तो कार्यविधि ल्याउनु परेको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए । उनले टीकापुरमा समेत आचारसंहिता उल्लंघनका घटना बढेको बताए ।

आज राजनीतिक दलहरुसँगको छलफलका क्रममा उनले आचारसंहिता पालना गरेर निर्वाचनलाई सहज बनाउन आग्रह गरे । उनले आचारसंहिता पालना नगर्नेलाई कार्यविधिमा भएको व्यवस्था अनुसार कारवाही गर्न वाध्य हुने चेतावनी दिएका छन ।

‘त्यस्तो अवस्था आउन नदिनुस्’ उनले भने–‘तपाईहरु सबै जिम्मेवार हुनुहुन्छ । आचारसंहिताको पालना गर्नुस् र गर्न लगाउनुस् ।’

उनले टीकापुरमा आचारसंहिता उल्लंघनका घटना बारे धेरै उजुरी प्राप्त भएको बताए । उनका अनुसार सम्बन्धित व्यक्तिहरुलाई चेतावनी सहित गल्ती नदोहो¥याउने गरी सचेत पारिएको छ ।

राजनीतिक दलहरुले समेत आचारसंहिताको पूर्णपालना गर्ने बताएका छन । राजनीतिक दलका प्रतिनिधिहरुले आचारसंहिता पालना गर्ने कुरामा लिखित प्रतिवद्धता जनाएको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिईन । उनले दलहरु जिम्मेवार ढंगले प्रस्तुत हुनेमा आफूहरु आशावादी रहेको बताईन ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update