Hamro Patra
लम्कीचुहामा गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार

टीकापुर, बैशाख १६
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवारलाई अघि सारेको छ ।

गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकी कुमारी सिँह उम्मेदवार रहेका छन । दलहरुले प्रमुख र उपप्रमुखमा दावी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन ।

निर्वाचन कार्यालयका अनुसार प्रमुखमा दावी गरेका मध्ये दुईजनाको उम्मेदवारी भने रद्द भएको छ । यसरी उम्मेदवारी रद्द हुनेमा नेपाली काँग्रेसका भक्तबहादुर थापा र नेकपा माओवादी केन्द्रका धिरेन्द्र रावल रहेका छन । उनीहरु दुवैजनालाई पार्टीले आधिकारिक नरहेको जानकारी दिएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

प्रमुखमा उम्मेदवारी दर्ता गरेका मध्ये नेकपा माओवादी केन्द्रका लोकराज ढकाल र नेकपा एकिकृत समाजवादीका बखतबहादुर बिष्टको उम्मेदवारी समेत फिर्ताको तयारीमा रहेको छ । बिष्टले पार्टीको निर्देशन अनुसार नै आफूले उम्मेदवारी फिर्ता गर्ने बताए ।

नेकपा माओवादी केन्द्रका नगर इञ्चार्ज लालबहादुर कुमालले ढकालको उम्मेदवारी फिर्ता गरेर गठनबन्धनको सहमति अनुसार अघि बढ्ने जानकारी दिए । उनले आफ्नो पार्टीको तर्फबाट उपप्रमुखमा उम्मेदवार रहने बताए ।

नेपाली काँग्रेस लम्कीचुहा नगर समितिका सभापति इन्द्र कुँवरले गठनबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार रहने बताए ।

गठबन्धनले प्रमुख र उपप्रमुख दुवै पदमा महिला उम्मेदवार अघि सारेपछि सकारात्मक र नकारात्मक दुवैखाले चर्चा भैरहेका छन । कतिपयले दुवै पदमा महिलाको उम्मेदवारीलाई राम्रो भनेका छन भने कतिपयले महिलाले नगरपालिका हाक्ने कुरामा आशंका व्यक्त गर्ने गरेका छन ।

प्रमुखका दावेदार शाहीले महिला भएकै कारण आफूहरुको क्षमता माथि शंका नगर्न आग्रह गरेकी छन । उनले उत्कृष्ठ नगरपालिका बनाएर देखाउने दावी गरिन ।

उनले आफ्ना जित्ने आधारमा पनि प्रशस्त रहेको बताईन । उनी विगत १४ वर्षदेखी दर्जन बढी संघसंस्थाको नेतृत्व गर्दै आएकी छन । ‘मैले नेतृत्व गरेका संघसंस्था उदाहरणीय छन’ उनले भनिन्–‘म काम गर्ने कुरामा कमजोर छैन ।’

त्यस्तै उपप्रमुखकी दावेदार सिँहले प्रतिगमनको विरुद्धमा तयार भएको गठबन्धनले जित प्राप्त हुने बताईन । उनले समेत महिला भएकै कारण कमजोर नठान्न आग्रह गरिन । उनले आफूहरुको क्षमता माथि उठेको प्रश्नको जवाफ काम गरेर देखाउने बताईन । ‘कसले के भन्छ भन्ने कुरा गौण हो’ उनले भनिन्–‘जितेर गएपछि काम गरेर देखाउने हो ।’

गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार अघि सारेर महिलाको अधिकार हनन गरेको आरोप लागिरहेको बेला लम्कीचुहाको नेतृत्वमा दुवैजना महिलालाई अघि सार्ने कुराले गठनबन्धनको प्रशंसा भैरहेको छ ।

कैलालीको पूर्वी क्षेत्रमा अवस्थित यस नगरपालिकामा ५४ हजारको हाराहारीमा मतदाता रहेका छन ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update