Hamro Patra
निर्वाचन आयोगद्वारा राजनीतिक दल र नेताहरुलाई कारवाही सिफारिस

काठमाण्डौं, बैशाख १६
निर्वाचन आयोगले आचार संहिताको उल्लंघन गरेको भन्दै राजनीतिक दल र तिनका नेताहरुलाई कारवाहीको सिफारिस गरेको छ । आयोगले पाँच राजनीतिक दल तथा नेतालाई कारबाहीको सिफारिस गरेको हो ।

आयोगले कारबाही सिफारिस गर्नुअघि स्पष्टीकरण सोधेको थियो । त्यसपछि आयोगले तीन राजनीतिक दल, एक सासंद र एक सभामुखलाई कारबाही गर्न सिफारिस गरेको हो ।

CMA Staff

सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आयोगले कारबाही गर्न सिफारिस गरेको हो ।

यस्तै प्रतिनिधि सभा सदस्य शंशाक कोइराला र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको हो । उनीहरुले अघिल्लो चुनावमा आयोगलाई बुझाएको खर्च विवरण भन्दा बढी खर्च भएको भन्ने अभिव्यक्ति दिएका थिए ।

यस्तै राप्रपाले चुनावी प्रचारप्रसार गर्दा कार्यक्रममा बालबालिकाहरूलाई प्रयोग गरेको, एकीकृत समाजवादीले भृकुटीमण्डपमा आमसभा गर्दा आचार संहिता विपरीतका काम गरेको र माओवादी केन्द्रले नेपाल विद्युत प्रधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्बिर राखी प्रचार प्रसारको सामग्री बनाएको भन्दै तीनै दललाई स्पष्टीकरण सोधिएको थियो । जवाफ पाएपछि आयोगको सचिवालयले तीनै दललाई पनि कारबाहीको सिफारिस गरेको स्रोतले जनाएको छ ।

यसरी आचार संहिता विपरीत काम गरेको पाएपछि आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम कारबाहीको लागि सिफारिस गरेको हो । अहिले ठूला दलहरूबाटै धेरैजसो आचार संहिताको उल्लंघन भइरहेको देखिएको छ ।

आयोगले चैत २६ गतेदेखि स्थानीय तह निर्वाचन आचार संहिता २०७९ लागु गरेको थियो । त्यसअघि आयोगले आचार संहिता चैत ३ गते नै राजपत्रमा प्रकाशन गरेको थियो ।

त्यस्तै दलहरूसँग पनि आचार संहिताको कार्यान्वयन गर्न प्रतिबद्धता माग गरेको थियो । आयोगले ७९ दललाई नै बोलाएर आचार संहितामा प्रतिबद्धता जनाउन भन्दै हस्ताक्षर गर्न लगाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update