Hamro Patra
तीन महिनादेखी त्रिपालको घुम्टो भित्र एम्बुलेन्स

टीकापुर, बैशाख १६
वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका युवाहरुले आर्थिक संकलन गरेर हस्तान्तरण गरेको एम्बुलेन्स तीन महिनादेखी सञ्चालन हुन सकेको छैन । टीकापुर नगरपालिका–८ धनसिँहपुरमा स्थायी बसोबास रहेर विभिन्न देशमा रोजगारीका क्रममा रहेका युवाहरुले धनसिँहपुर स्वास्थ्य चौकीलाई माघ १९ गते एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

एक समारोहकाबीच युवाहरुले हस्तान्तरण गरेको एम्बुलेन्स बुझ्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले छिट्टै सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । मेयर रावलले छिट्टै सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेको भएपनि एम्बुलेन्स स्वास्थ्य चौकीको हाताभित्र थन्किएको छ । एम्बुलेन्सलाई त्रिपालले छोपेर राखिएको छ ।

Khadga Memorial And Janajagriti

आफ्नो जन्मथलोमा विभिन्न सामाजिक काम गर्ने उद्देश्यले वैदेशिक रोजगारीका क्रममा रहेका युवाहरुले धनसिँहपुर प्रवासी युवा समिति समेत गठन गरेका छन । उनीहरु हाल रोजगारीका क्रममा कोरिया, जापान, अमेरिका, साउदी अरब, मलेसीया लगायतका देशमा रहेका छन ।

सो समितिको पहलमा २२ जना युवाहरुले ११ लाख ७६ हजार रुपैयाँ संकलन गरेर एम्बुलेन्स खरिद गरेको हो । समितिका संयोजक ओमबहादुर साउँदले एम्बुलेन्स सञ्चालनमा आउन नसक्नु दुःखद भएको बताए । उनले बिरामीको उपचारमा सहयोग पुग्ने उद्देश्यले हस्तान्तरण गरेको एम्बुलेन्स थन्काएर राख्दा आफूहरुको भावनामा चोट पुगेको दुःखेसो पोखे । एम्बुलेन्स खरिदका लागि उनी स्वयम्ले सबैभन्दा धेरै १ लाख १५ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

टीकापुर नगरपालिका वडा नं. ८ का वडा सचिव मटराम चौधरीले चालकको व्यवस्था नहुँदा एम्बुलेन्स सञ्चालनमा आउन नसकेको बताए । उनले नगरपालिकाले चालकको व्यवस्था नगरेको जानकारी दिए । ‘हामीले चालक राख्ने व्यवस्था छैन’ उनले भने–‘नगरपालिकाले यस बारेमा चासो दिएन ।’

धनसिँहपुर स्वास्थ्य चौकीका इञ्चार्ज केवलसिँह भूलले एम्बुलेन्स सञ्चालन भए बिरामीलाई उपचारमा सहज हुने बताए । उनले एम्बुलेन्स सञ्चालनमा नआएर थन्किनु राम्रो कुरा नभएको बताए । ‘नगरपालिकाले दरबन्दी कायम गरेर चालकको व्यवस्था गरेको भए राम्रो हुन्थ्यो’ उनले भने–‘एम्बुलेन्स थन्काएर राख्नु राम्रो कुरा हैन ।’

यो ठाउँ टीकापुर नगरपालिकाका अन्य वडाको तुलनामा टीकापुर अस्पतालबाट भौगोलिक रुपमा टाढा छ । यो बाढी प्रभावित क्षेत्र समेत हो । यहाँका बासिन्दा वर्षौदेखी स्वास्थ्योपचारको समस्या भोग्दै आएका छन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update