Hamro Patra
विदेशी विनिमय सञ्चितिको चाप अझै रहनेः गभर्नर

काठमाण्डौं, बैशाख १५
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशी विनिमय सञ्चितिको चाप अझै केही समय कायम रहने बताएका छन । उनले चालु आर्थिक वर्षमा बढेको कर्जा प्रवाहको अधिकांश अंश आयात भुक्तानीमा गएका कारण सुरूदेखि नै शोधनान्तर स्थिति घाटामा रहन गएको बताए ।

राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले विनिमय सञ्चितिमा परेको दबाबलाई कम गर्न बैंकले विभिन्न नीतिगत प्रयास गरेको जानकारी दिए ।

CMA Staff

गभर्नर अधिकारीले बाह्य क्षेत्र स्थायित्वका लागि राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले सञ्चिति पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको जानकारी पनि दिए ।

उनका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले बैंकिङ प्रणाली मार्फत विप्रेषण पठाएर बैंक तथा वित्तीय संस्थामा जम्मा गरे न्यूनतम एक प्रतिशत बिन्दुले अतिरिक्त ब्याज पाउने व्यवस्था मिलाइएको छ । गत पुस र माघमा केही वस्तुको आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । गैरआवासीय नेपाली र उनीहरू संलग्न विदेशी संस्थालाई विदेशी मुद्रामा निक्षेप खाता खोल्न सहजीकरण गरिएको छ ।

उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भएको वृद्धि र रुस–युक्रेन युद्धका कारण खाद्य तथा गैरखाद्य वस्तुको मूल्यवृद्धि हुन गएकाले मुद्रास्फीतिको चाप केही समय कायम रहने बताए । अधिकारीका अनुसार गत फागुन मसान्तसम्ममा १ लाख ४४ हजार ६ सय २० ऋणीलाई सहुलियत कर्जा प्रवाह गरी १२ अर्ब ७५ करोड ब्याज अनुदान प्रदान गरिएको छ ।

फागुनसम्म यस्तो कर्जा २ खर्ब १५ अर्ब ७६ करोड लगानीमा रहेको छ । यस्तै सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत फागुनसम्ममा १ खर्ब ३४ अर्ब ११ करोड लगानीमा छ । फागुनसम्म २४ हजार २ सय ६८ ऋणीको लागि १ खर्ब ६ अर्ब ११ करोड पुनरकर्जा स्वीकृत भएको जानकारी गभर्नर अधिकारीले दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update