टीकापुर, बैशाख १८
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयन हुने भएको छ । आज सम्पन्न भेलामा संस्थाको बैठकले जेठ १० गते साधारण सभा मार्फत नयाँ नेतृत्व चयन हुने निर्णय गरेको जानकारी दिईएको छ ।
अध्यक्ष नवराज रावलले यही बैशाख २८ गते हरेक ब्लक र टोलमा साधारण सभाका लागि प्रतिनिधि चयन हुने बताए । उनले विधानमा व्यवस्था भए अनुसार हरेक ८ उपभोक्ता बराबर साधारण सभाका लागि १ प्रतिनिधि चयन हुने जानकारी दिए ।
संस्थाको उपभोक्ता संख्या अधिक भएकोले साधारण सभा प्रतिनिधि मार्फत सम्पन्न गर्नुपर्ने वाध्यता भएको अध्यक्ष रावलले बताए । उनका अनुसार हाल संस्थाको उपभोक्ता संख्या ६ हजार ३३६ रहेको छ । जसअनुसार ७९२ जना प्रतिनिधि चयन हुनेछन ।
संस्थाले उपभोक्ता मध्ये ५ हजार ८०० घरमा धारा र ५ हजार ६५९ घरमा मिटर जडान भैसकेको जानकारी दिएको छ । संस्थाले उपभोक्ताको संख्या वृद्धि भएसँगै पाइप विस्तारको कामलाई समेत निरन्तरता दिँदै आएको छ । संस्थाले सुरुमा १९४ किलोमिटर पाइप बिछ्याएकोमा हाल ४३ किलोमिटर पाइप थप गरेको छ । त्यस्तै सम्झौता भैसकेको ७ किलोमिटर पाइप बिछ्याउने काम तयारी अवस्थामा रहेको जानकारी दिँदै संस्थाले थप ८ किलोमिटर पाइप आवश्यक पर्ने बताएको छ ।
‘यति पाइप बिछ्याउन सकेपछि सबै उपभोक्ताको घरमा धारा जडान गर्न सकिन्छ’ अध्यक्ष रावलले भने–‘हामी निरन्तर लागिरहेका छौं ।’
आयोजना २०७२ मंसिरबाट निर्माण सुरु भएको हो । आयोजनाले ५५ हजार ७५० उपभोक्तालाई २४ सै घण्टा पानी उपलब्ध गराउने लक्ष्य राखेको छ । जसका लागि १५ लाख ७५ हजार लिटर क्षमताका ४ वटा ट्याङ्की निर्माण गरिएका छन ।
यो आयोजनाको कुल लागत ७८ करोड रहेको छ । जसमध्ये ५ प्रतिशत उपभोक्ताले व्यहोरेका छन । २५ प्रतिशत नगर विकास कोषको ऋण र ७० प्रतिशत रकम एशियाली विकास बैंकको अनुदानमा नेपाल सरकारले उपलब्ध गराएको छ । नगर विकास कोषको ऋण नगरपालिकाको जमानीमा संस्थाले प्राप्त गरेको अध्यक्ष रावलले बताए । सो ऋण रकम आयोजना सञ्चालनमा आएपछि संस्थाले क्रमिक रुपमा तिर्दै जाने बताईएको छ ।