टीकापुर, बैशाख १४
गठबन्धन मध्येका प्रमुख तीन दलले कैलालीका १३ स्थानीय पालिकामा उम्मेदवार रहेका प्रमुख र उपप्रमुखको आधिकारिक नाम सार्वजनिक गरेको छ । तीन दलका तर्फबाट आज एक संयुक्त विज्ञप्ती जारी गरी अरु कसैले पार्टीको नाम र स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गरेको भए फिर्ता लिन अपिल गरेको छ ।
सो विज्ञप्तीमा गठबन्धनबाटै मेयरमा पाँच जनाको उम्मेदवारी परेको लम्कीचुहा नगरपालिकामा काँग्रेसकी सुशीला शाहीलाई आधिकारिक उल्लेख छ । जहाँ काँग्रेसकै भक्तबहादुर थापा, माओवादी केन्द्रका लोकराज ढकाल र धिरेन्द्र रावल र एकिकृत समाजवादीका बखतबहादुर बिष्टले समेत मेयरमा उम्मेदवारी दर्ता गरेका छन ।
त्यस्तै गठबन्धनले धनगढी उपमहानगरपालिकाको मेयरमा काँग्रेसबाट नृप ओड र उपमेयरमा माओवादी केन्द्रबाट शान्ती अधिकारी क्षेत्रीलाई अघि सारेको छ । त्यस्तै गोदावरी नगरपालिकामा मेयर काँग्रेसका बिरेन्द्र भट्ट र उपमेयर एकिकृत समाजवादीका रत्ना कडायत, घोडाघोडी नगरपालिकामा मेयरमा एकिकृत समाजवादीका खडक रावत र उपमेयरमा काँग्रेसका गुलियादेवी चौधरीलाई अघि सारेको छ ।
टीकापुर नगरपालिकामा मेयरमा काँग्रेसका नवराज रावल र उपमेयरमा माओवादी केन्द्रका खडक शाह, भजनी नगरपालिकामा मेयरमा माओवादी केन्द्रका शेरबहादुर चौधरी र उपमेयरमा काँग्रेसका गोकेन्द्र भण्डारी र गौरीगँगा नगरपालिकामा मेयरमा माओवादी केन्द्रका देविदत्त कँडेल र उपमेयरमा काँग्रेसका भोजबहादुर बमलाई अघि सारेको छ ।
गठबन्धनले ६ वटा गाउँपालिका मध्ये चुरेमा अध्यक्ष एकिकृत समाजवादीका लोकबहादुर सारुमगर र उपाध्यक्ष काँग्रेसका धना थापा, जानकीमा अध्यक्ष काँग्रेसका परशुराम महतो कठरीया र उपाध्यक्ष माओवादी केन्द्रका जयप्रकाश दहित, जोशीपुरमा अध्यक्ष काँग्रेसका बंशराम कठरीया र उपाध्यक्षमा माओवादी केन्द्रका दीर्घ बिनाडीलाई अघि सारेको छ ।
त्यस्तै कैलालीमा अध्यक्ष माओवादी केन्द्रका लाजुराम चौधरी र उपाध्यक्ष काँग्रेसका भगवतीकुमारी चौधरी, मोहन्यालमा अध्यक्ष माओवादी केन्द्रका देविदत्त उपाध्याय र उपाध्यक्ष काँग्रेसका कमलबहादुर साउँद र बर्दगोरीयामा अध्यक्ष काँग्रेसका शेरबहादुर कठरीया र उपाध्यक्ष माओवादी केन्द्रका गणेश गिरीलाई अघि सारेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पार्टीसँग वडा तहमा मित्रवत चुनावी तालमेल गर्ने उल्लेख छ ।
सो विज्ञप्तीमा नेपाली काँग्रेस कैलालीका सभापति नारायण भट्ट, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य दीर्घ सोडारीले हस्ताक्षर गरेका छन ।