टीकापुर, बैशाख १३
गठबन्धन दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले टीकापुर नगरपालिकाका वडामा भने मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन ।
दुवै दलले आआफ्ना तर्फबाट वडाध्यक्ष सहित उम्मेदवारी दर्ता गरेका छन । नेपाली काँग्रेसले भने वडा नं. १ मा कसैलाई आधिकारिक उम्मेदवार तोकेको छैन । यसअघि गठबन्धन दलहरुबीच वडा नं. १ को वडाध्यक्ष नेकपा एकिकृत समाजवादीलाई दिने सहमति भएको छ । एकिकृत समाजवादीले वडाध्यक्षका रुपमा सूर्यचन्द्र भट्टराईलाई अघि सारेको छ । माओवादी केन्द्रले भने वडा नं. १ को वडाध्यक्षमा प्रकाश टमट्टालाई अघि सारेको छ ।
माओवादी केन्द्रले वडा नं. २ मा राजेश विक, वडा नं. ३ मा पतिराम चौधरी, वडा नं. ४ मा मानबहादुर कामी, वडा नं. ५ मा चक्र विक, वडा नं. ६ मा फिरुलाल चौधरी, वडा नं. ७ मा यज्ञ न्यौपाने, वडा नं. ८ मा दीर्घ ठकुल्ला र वडा नं. ९ मा लौटन चौधरीलाई अघि सारेको छ । ठकुल्ला र चौधरी यसअघि समेत वडाध्यक्ष थिए ।
नेपाली काँग्रेसले वडा नं. १ बाहेकका वडाहरुमा आफ्ना उम्मेदवारलाई अघि सारेको छ । उसले वडा नं. २ मा दीपक चौधरी, वडा नं. ३ मा ऋषी विक, वडा नं. ४ मा गोरे डगौरा थारु, वडा नं. ५ मा अनन्त खड्का, वडा नं. ६ मा बलिराम चौधरी, वडा नं. ७ मा हरी कार्की, वडा नं. ८ मा शेरबहादुर साउँद र वडा नं. ९ मा विजय धामीलाई अघि सारेको छ ।
यसअघि गठबन्धन दलहरुबीच वडा नं. १ एकिकृत समाजवादी, वडा नं. २ देखी ६ सम्म काँग्रेस र वडा नं. ७ देखी ९ सम्म माओवादी केन्द्रले वडाध्यक्ष अघि सार्ने सहमति भएको थियो ।
गठबन्धन दलहरुबीच सहमति भए पनि दुवै दलले आआफ्ना उम्मेदवारलाई अघि सारेका छन । गठबन्धन दलहरुबीच पुनः सहमतिको प्रयास भैरहेको छ । माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका दीर्घ ठकुल्लाले सहमतिको प्रयास भैरहेको जानकारी दिए ।
उनले गठबन्धन दलहरुबीच सहमति जुट्न नसके मित्रवत प्रतिस्पर्धा हुने बताए ।
काँग्रेस नगर सभापति नरेशकुमार खत्रीले समेत सहमतिको प्रयास भैरहेको बताए । उनले सहमति जुटे सहमति अनुसार र सहमति जुट्न नसके मित्रवत प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको जानकारी दिए ।
निर्वाचन कार्यालयका अनुसार बैशाख १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने सकिनेछ । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते तोकिएको छ ।