Hamro Patra
लम्कीचुहाको मेयरमा गठबन्धनकै पाँच जनाको उम्मेदवारी

टीकापुर, बैशाख १३
कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा गठबन्धनकै पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । प्रमुख निर्वाचन अधिकृत हिरालाल चौधरीका अनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई÷दुई जना र नेकपा एकिकृत समाजवादीबाट एक जनाले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर पदका लागि उम्मेदवारी दर्ता गर्नेमा नेपाली काँग्रेसका तर्फबाट भक्तबहादुर थापा र सुशीला शाही रहेका छन भने नेकपा माओवादी केन्द्रबाट लोकराज ढकाल र धिरेन्द्र रावल रहेको प्रमुख निर्वाचन अधिकृत चौधरीले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारी दर्ता गर्दा आवश्यक पर्ने दलको सिफारिस पत्रमा काँग्रेसका आकांक्षीलाई सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका आकांक्षीलाई सुदूरपश्चिम इञ्चार्ज खगराज भट्टको हस्ताक्षर रहेको छ ।

Khadga Memorial And Janajagriti

उनले एउटै दलबाट एउटै पदमा दुई जनाको उम्मेदवारी दर्ता भएपछि आधिकारिकताको प्रमाण पेश गर्न लगाईने बताए ।

नेपाली काँग्रेस लम्कीचुहा नगर समितिका सभापति इन्द्र कुँवरले कुन व्यक्ति आधिकारिक भन्ने बारेमा आफू समेत स्पष्ट नरहेको बताए । उनले सुदूरपश्चिम प्रदेश समितिले थापाका पक्षमा निर्णय गरेर सिफारिस गरेको भएपनि शाहीले पार्टी सभापतिको हस्ताक्षर सहितको सिफारिस पत्र बुझाए पछि विवाद बढेको जानकारी दिए । उनले प्रदेश वा केन्द्रले आधिकारिकताका बारेमा स्पष्ट पार्ने बताए । ‘हामी माथिको निर्णय पर्खेर बसेका छौं’ उनले भने–‘जसले टिकट दिएको हो प्रष्ट पार्ने जिम्मेवारी पनि उसैको हो ।’

उता माओवादी केन्द्रका नगर इञ्चार्ज लालबहादुर कुमालले भने ढकाल पार्टीको आधिकारिक उम्मेदवार रहेको बताए । उनले मेयर पदमा ढकाल बाहेक अरु कसैको उम्मेदवारी दर्ता भएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘हाम्रो उम्मेदवार लोकराजजी हो’ उनले भने–‘अरुको उम्मेदवारीका बारेमा जानकारी छैन ।’

गठबन्धन मध्येकै एक नेकपा एकिकृत समाजवादीका बखतबहादुर बिष्टले समेत मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन । उनी साविक बलिया गाविसका पूर्वअध्यक्ष समेत हुन ।

नेकपा एमालेले भने मेयर महादेव बजगाईलाई नै दोहोर्याउने भएको छ । बजगाईले दोस्रो कार्यकालका लागि मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन । काँग्रेस र माओवादी केन्द्र भित्रको द्वन्द्वले मेयरमा दोहोरिने तयारीमा रहेका बजगाईलाई फाईदा पुग्ने संकेत देखिएको छ ।

मेयरका लागि चार जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा उदयराम भाट, नेत्रप्रसाद भण्डारी, कृष्णबहादुर बटाला र दीपक रावल रहेका छन ।

लम्कीचुहा नगरपालिकाको मेयरका लागि १७ र उपमेयरका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update