टीकापुर, चैत्र २७
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावल कैलालीको सुरक्षा अवस्थाबारे बुझ्न आज पूर्वी क्षेत्रमा पुगेका छन् ।
नवनियुक्त मन्त्री रावलले पदभार ग्रहण गरेपछि पहिलो पटक जिल्लाको पूर्वी क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
मन्त्री रावललाई ईलाका प्रहरी कार्यालय टीकापुरले स्वागतसहित सम्मान गरेको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरमा भएको कार्यक्रममा मन्त्री डाक्टर रावलले कैलालीका प्रहरी प्रमुख र ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुखसँग टीकापुर र समग्र कैलाली जिल्लाको शान्ति सुरक्षाबारे जिज्ञासा राखेका थिए ।
कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले कैलालीको शान्ति सुरक्षाको अवस्था सुध्रिदै गएको बताए । उनले विभिन्न समस्या र अभावका बिच प्रहरीले शान्ति सुरक्षा दिइरहेको बताए ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले टीकापुरका केही क्षेत्रमा प्रहरी बिट थप्नुपर्ने बताए । उनले गस्ती बढाउन गाडीको व्यवस्थामा गरिदिन आग्रह गरेका थिए ।