Hamro Patra
लम्की शान्त, मृतकका आफन्तले शव बुझे

लम्की, बैशाख १७
दुर्घटनामा संलग्न ट्रक चालकलाई कानूनी कारवाही गर्ने सहमति भएपछि लम्कीको जनजीवन सामान्य बनेको छ । मृतक सुनिता रावल (१९) का आफन्तले शव बुझेका छन । राजमार्गमा अवरुद्ध सवारी साधन सुचारु भएका छन ।

साइकलमा सवार रावललाई आज बिहान साढे नौ बजे विद्युत कार्यालयको गेट नजिकै ना ७ ख ९२३३ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिएपछि घाईते भएकी रावललाई सोही ट्रकले ब्याक गरेर च्यापेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।

मृतकका बुबा तप्तबहादुर रावलका अनुसार ट्रकको अगाढीको चक्काले टाउको च्यापिएको छ । उनले घाईते भएकी आफ्नी छोरीलाई ब्याक गरेर मार्ने ट्रक चालकलाई हदैसम्मको कानूनी कारवाही हुनुपर्ने माग गरेका छन ।

कैलाली प्रहरी प्रमुख एसपी आभुषण तिमिल्सिना आफै घटनास्थल पुगेका छन । उनले पीडित पक्षलाई दोषीलाई कानूनी कारवाहीको प्रतिवद्धता व्यक्त गरेपछि सहमति जुटेको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापछि आक्रोशित स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा १३ जना घाईते भएका छन । घाईते हुनेमा एक जना स्थानीय प्रेमराज मुडभरी र अरु सबै सुरक्षाकर्मी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । घाईते सबैको स्थानीय लालरत्न अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास र हवाई फायर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update