Hamro Patra
स्थानीय तह निर्वाचनमा उम्मेदवारका आकांक्षी धेरै

टीकापुर, चैत २४
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको आकांक्षा राख्नेको संख्या निकै धेरै देखिएको छ । टीकापुर नगरपालिकाको हकमा उम्मेदवारको आकांक्षा राख्नेमा नेपाली काँग्रेसबाट धेरै देखिएका छन ।

टीकापुर नगर कार्य समितिले चैत २१ गते आकांक्षीहरुलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । नगर सचिव बिरेन्द्र कुँवरका अनुसार काँग्रेसबाट टीकापुर नगरपालिकाको प्रमुखमा ११ र उपप्रमुखमा १२ जनाले निवेदन दर्ता गरेका छन ।

प्रमुखका आकांक्षीमा नवराज रावल, गोरबहादुर खड्का, धिजराज रेग्मी, भुवनेश्वर अधिकारी, रतन खड्का, राजकुमार हमाल, जंगबहादुर साउँद, प्रा.डा. जगतबहादुर सिँह रावल, केशरीकुमारी रावल बिष्ट, टेकेन्द्रबहादुर धामी र तिर्थराज बोहरा रहेका छन ।

Khadga Memorial And Janajagriti

प्रमुखका आकांक्षी मध्ये साउद यसअघिको निर्वाचनमा पराजित भएका थिए । उनले ५५१४ मत पाएका थिए । त्यस्तै प्रमुखकै आकांक्षी बिष्ट हाल उपप्रमुख रहेकी छन । उनी सबैभन्दा धेरै मत प्राप्त गरेर उपप्रमुख विजयी भएकी थिईन । उनले ६२२६ मत प्राप्त गरेकी थिईन । सो निर्वाचनमा उनी काँग्रेसबाट जित्ने एक्लो उम्मेदवार हुन ।

त्यस्तै उपप्रमुखको आकांक्षीमा रणबहादुर रावल, सरस्वती शाह, देवेश्वरी शाही, झनकराज तिमिल्सिना, निर्मला कडायत, लौटन चौधरी, बिना सोडारी, हस्ता भण्डारी, जनककुमारी चौधरी, अर्चना चौधरी, सुशीला विक र चिरञ्जीवी खनाल रहेका छन ।

लौटन चौधरी यसअघिको स्थानीय निर्वाचनमा प्रमुखका निकटतम प्रतिद्वन्द्वी हुन । उनी तत्कालिन अवस्थामा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट प्रमुख पदका उम्मेदवार रहेका थिए । उनले ५५३४ मत प्राप्त गरेका थिए । उनी हाल नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ को सचिव छन ।

नगरपालिकाका हकमा नेपालकै सबैभन्दा बढी मतदाता रहेको वडा नं. १ को वडाध्यक्षको आकांक्षीका लागि समेत वडा कार्य समितिले चैत २१ गते नै सूचना जारी गरेको थियो । वडाध्यक्षको लागि २० जनाको निवेदन परेको वडा सभापति चक्रबहादुर बटालाले जानकारी दिए ।

काँग्रेसले वडा नं. ६ मा भने वर्तमान वडाध्यक्षलाई नै दोहोर्याउने निर्णय गरेको छ । वडा कार्य समितिले वडाध्यक्ष बलिराम चौधरीलाई नै वडाध्यक्षका रुपमा अघि सार्ने निर्णय गरेको छ । उनी कैलाली क्षेत्र नं. १ प्रदेश ख का पार्टी सभापति समेत हुन ।

नौ वडा मध्ये अन्यमा समेत वडाध्यक्षका आकांक्षीको सूची लामो रहेको छ । उम्मेदवारका आकांक्षीको सूची लामो देखिए पछि काँग्रेसलाई उम्मेदवार छनौटमा निकै सकस देखिएको छ । एकातिर अन्य पार्टीहरुसँग गठबन्धन गरेर जाने सहमति भैरहेका बेला अर्कोतिर पार्टीभित्रै उम्मेदवारका आकांक्षी धेरै देखिए पछि काँग्रेसमा उम्मेदवार छनौटको सकस बढेको हो ।

नेकपा एमालेमा पनि टीकापुर नगरपालिकाको प्रमुखका लागि चार जना आकांक्षी देखिएका छन । वर्तमान प्रमुख तपेन्द्रबहादुर रावलले दोहोरिने आकांक्षा देखाएका छन । उनी अघिल्लो निर्वाचनमा ५९५९ मत पाएर विजयी भएका थिए । नगर अध्यक्ष ध्रुव खत्रीका अनुसार वर्तमान प्रमुख रावल, श्याम खत्री र मातृका तिमिल्सिैनाका साथै आफू स्वयम समेत प्रमुखको आकांक्षी छन ।

उनले उपप्रमुखका हकमा भने धेरै जनाको नाम चर्चामा रहेको बताए । स्रोतका अनुसार एमालेले उपप्रमुखको भरपर्दो उम्मेदवार अघि सार्न सकेको छैन । कसलाई अघि सार्दा चुनाव जित्न सहज हुन्छ भन्नेमा पार्टीले छानविन गरिरहेको बताईएको छ ।

एमालेमा समेत वडा नं. १ को वडाध्यक्षका लागि १८ जनाको दावी छ । उसले अन्य केही वडामा भने सर्वसम्मत रुपमा उम्मेदवारको टुङ्गो लगाएको बताईएको छ । ‘अहिले नै अन्तिम टुङ्गो त हैन’ नगर अध्यक्ष खत्रीले भने–‘नगरले सिफारिस गर्न अझै बाँकी छ ।’

सत्ता गठबन्धनको हिस्सेदार मध्येको एक नेकपा एकिकृत समाजवादीले यस बारेमा औपचारिक छलफल सुरु नगरेको जनाएको छ । नगर अध्यक्ष रंग अधिकारीले आफूहरु गठबन्धन हुने वा नहुने भन्ने पर्खाईमा रहेको बताए ।

उनले टीकापुर नगरपालिकाको प्रमुख र उपप्रमुख भन्दा पनि वडा नं. १ को वडाध्यक्षमा सशक्त दावी रहेको बताए । ‘यो वडामा हाम्रो संगठन छ । अहिलेको वडाध्यक्ष हामीसँगै हुनुहुन्छ’ उनले भने–‘त्यही भएर वडाध्यक्षमा सशक्त दावी हो ।’

उनका अनुसार गठबन्धन पश्चात प्रमुख वा उपप्रमुख मध्ये कुनै एक पदमा भागबण्डा भए प्रमुखमा भैरव रावल र उपप्रमुखमा गंगाराम आचार्य, भीमराम चपाँई र ललित साउँद मध्ये एक जनालाई अघि सार्ने तयारी छ । आचार्य हाल वडा नं. १ का वडाध्यक्ष र साउँद वडा नं. १ को सदस्य जितेर जिल्ला समन्वय समिति सदस्य रहेका छन ।

सत्ता गठबन्धनकै एक अर्को हिस्सेदार नेकपा माओवादी केन्द्रले समेत स्थानीय तह निर्वाचनलाई लक्षित गरेर छलफल सुरु गरेको छ । नगर अध्यक्ष खडक शाहले छलफलकै क्रममा रहेको बताए । माओवादी केन्द्रबाट अध्यक्ष स्वयम् र शिवबहादुर थापा ललित र विकाश चौधरी प्रमुखका आकांक्षी रहेका छन । थापा यसअघिको निर्वाचनमा पराजित भएका थिए । उनले ५५१० मत प्राप्त गरेका थिए ।

तीन महिना अघि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी भने प्रमुख र उपप्रमुखको टुङ्गो लगाएर घरदैलो अभियानमा जुटेको छ । कैलाली क्षेत्र नं. १ का निलम्वित साँसद रेशमलाल चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष रहेको सो दलले प्रमुखमा रामलाल डगौरा थारु र उपप्रमुखमा उल्कादेवी विश्वकर्मालाई अघि सार्ने निर्णय गरिसकेको छ ।

प्रमुखका दावेदार थारु हाल वडा नं. ७ का वडाध्यक्ष हुन भने विश्वकर्मा शिक्षिका हुन । उनी शिक्षण पेशा छोडेर उपप्रमुखको मैदानमा उत्रिएकी छन । यो दलले थारु र दलित समुदायको मतलाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update